नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ। पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो।
त्यसअघि उनीप्रति नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले)का महासचिव सिपी मैनाली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेता पशुपति पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे।
एमाले पूर्वस्थायी समिति सदस्यसमेत रहेका नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले र एकीकृत समाजवादीका पदाधिकारी, सांसद, पूर्वमन्त्री, नेता तथा कार्यकर्ता, शुभेच्छु र आफन्तजन ठूलो सङ्ख्यामा पशुपति पुगेका थिए।
लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्या झेल्दै आएका उनी केही दिनअघि निमोनिया भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका थिए।
नेता नेपालको उपचारका क्रममा आज अपराह्न त्यही निधन भएको हो। विसं २०१० पुस २७ गते भोजपुरको गोगनेमा जन्मिएका नेपाल राजनीतिज्ञ र साहित्यकार मात्र नभई स्तम्भकार, लेखक र पत्रकारका रूपमा समेत परिचित थिए। उनले छलफल, दृष्टि, प्रकाश साप्ताहिको सम्पादन गर्नुका साथै ती पत्रिकाको नियमित स्तम्भकार समेत थिए।
उनका कथाभित्रका ‘नारी अनुहार’, ‘परोपकार यात्रा’, ‘बेचिएका चेलीहरू’ र ‘सूर्यमान’ शीर्षका कथा सङ्ग्रहका अतिरिक्त ‘खुइते कडेरिया’, ‘पार्टीकी आमा’, ‘पूर्वतिर’, ‘नओइलाउने फूल’, ‘देउमाइकको किनार मुक्ति’, ‘एक्काइसौँ शताब्दीको सुम्निमा’, ‘नन्दीताल’गायतका उपन्यास प्रकाशित छन्।
प्रदीप नेपाललाई कसले कसरी सम्झिए?
नेकपा (एमाले)का पूर्वउपाध्यक्ष एवं वामपन्थी नेता वामदेव गौतमले नेपाली राजनीतिमा स्व नेपाललाई एमाले नेताभन्दा अघि ‘कोर्डिनेशन’ केन्द्र झापा सङ्घर्षको योद्धा र पार्टी निर्माणकर्ताका रूपमा सदासर्वदा स्मरण भइरहने प्रतिक्रिया दिएका छन्।
‘उहाँले प्रारम्भिककालमा पार्टीको सङ्गठन विस्तारमा ज्यादै ठूलो भूमिका निर्वाह गर्नुभएको छ। कम्युनिष्ट पार्टीको सफल नेता र योद्धा हुनुहुन्थ्यो। पार्टीले दिइएको जस्तोसुकै जिम्मेवारी पूरा गर्न निरन्तर लागि पर्ने सफल नेता हुनुहुन्थ्यो,’ गौतमले भने।
एमालेका नेता डा राजन भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलनमा स्व नेपालको ठूलो योगदान रहेको बताए। उनले भने, ‘उहाँले नेकपाको कोर्डिनेशनकालदेखि नै निरन्तररूपमा प्रगतिशील आन्दोलनमा वैचारिकरूपमा स्पष्ट, जुझारू र सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुभयो।’
नेता नेपाल बहुआयामिक व्यक्तित्व भएकाले युवाका लागि ठूलो प्रेरणाका स्रोतका रूपमा रहनुभएको बताउँदै डा।भट्टराईले चुनौतीपूर्ण कार्यलाई आँटका साथ लिने र लिएको काम फत्ते गरेर मात्र छोड्ने साहसिक नेताको व्यक्तित्व बनाउनुभएको बताए।
विसं २०३३ मा नख्खुजेल तोडेर निस्किएका नेता नेपाल विसं २०४६ सम्म पार्टीमा भूमिगत जीवन बिताएका थिए। जतिसुकै प्रतिकूल अवस्थामा पनि धैर्यतापूर्वक त्यसलाई संयोजन गरेर लैजाने उनमा क्षमता रहेको उनका सहकर्मीहरू बताउछन्।
सरकारमा रहँदा उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा केही न केही नयाँ काम सुरू गर्ने र नयाँपनको थिति बसाउने कार्य गर्नुभएको डा भट्टराईले बताए। रासस
Shares

प्रतिक्रिया