समाज


सूचना लुकाएको आरोपमा फेटा गाउँपालिकाका दुई अधिकृतसहित पत्रिका सञ्चालकविरुद्ध आरोपपत्र दायर

सूचना लुकाएको आरोपमा फेटा गाउँपालिकाका दुई अधिकृतसहित पत्रिका सञ्चालकविरुद्ध आरोपपत्र दायर

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १७:१७, काठमाडौँ

बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह र लेखा अधिकृत मुकेश प्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरको जनाएको छ।

अधिकृतद्वय सिंह र साहले फेटा गाउँपालिका, बाराबाट आव २०७९।८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य बोलपत्र आव्हानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा नेपाल मिडिया हाउस प्रालिका निर्देशक नवराज निरौलासँगको मिलोमतोमा उक्त बोलपत्र आह्वानको सूचना सौर्य दैनिक पत्रिकामा प्रकाशन नगरी ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी उक्त पत्रिकाको सोही मिति र अंकको देखिने गरी केही प्रतिमा मात्र बोलपत्र आह्वानको सूचना समावेश गराएको अख्तियारको दाबी छ।

सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा नेपाल मिडिया हाउस प्रालिको बिलबाट १ लाख ४२ हजार १६० रुपैयाँ (भ्याट बाहेक) रकम भुक्तानी दिएको पुष्टि भएको थियो।

गौरी शंकर कुमार सिंह र मुकेश प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो १ लाख ४२ हजार १६० रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ।

यस्तै, नेपाल मिडिया हाउस प्रालि तथा उक्त कम्पनीका प्रबन्ध निर्देशक नवराज निरौलालाई समेत मुख्य कसूरदार सरह सजाय हुन मागदाबी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad