शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘झिल्को’ लाई दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ।
‘झिल्को’ हेरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले यो चलचित्रले सम्पूर्ण समाजको पीडा बोकेको प्रतिक्रिया दिए।
‘एउटा परिवारभित्र एक सदस्यको कमी बुझाइ र अर्काको बहकाउमा लाग्दा कस्तो प्रकारको विघटन हुन्छ भन्ने कुरा चलचित्रले प्रभावकारी ढङ्गले देखाएको छ,’ उनले भने, ‘अभिभावक र शिक्षक गम्भीर बन्न नसकेको अवस्था र त्यसले विद्यार्थीमा पार्ने असर, सीप र संस्कारसँग शिक्षालाई जोड्नु पर्ने आवश्यकता चलचित्रले स्पष्ट रूपमा प्रस्तुत गर्छ।’
त्यसैगरि, प्याबसनका केन्द्रीय महासचिव आर।बि। कटुवालले ‘झिल्को’ लाई घर–घरको कथा बताउने उनले सुनाए। उनले भने, ‘बच्चाहरूको पहिलो पाठशाला विद्यालय होइन, घर हो। र, अभिभावक नै उनीहरूको पहिलो गुरु हुन् भन्ने गम्भीर सन्देश चलचित्रले दिएको छ।’
हरेक अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयका प्रिन्सिपलले हेर्नुपर्ने चलचित्र रहेको उनले बताए। अभिभावक, शिक्षक, समाज र स्वयं बच्चाबीचको समन्वय नहुँदासम्म कुनै पनि बालकको समुचित विकास सम्भव नहुने उनको मत छ।
पूर्वसचिव भीम उपाध्यायले चलचित्रले डिजिटल प्रविधिको प्रभावमाथि गहिरो प्रश्न उठाएको टिप्पणी गरे। ‘प्रविधिलाई दोष मात्र दिँदा समस्या समाधान हुँदैन, यसलाई स्विकार्दै समाधान खोज्नुपर्ने अवस्था आएको छ,’ उपाध्यायले बताए।
उनका अनुसार ‘झिल्को’ ले बहु आयामिक समस्याहरू देखाउँदै त्यसको समाधान पनि बहु आयामिक दृष्टिकोणबाट खोजिनुपर्ने सन्देश दिएको छ।
‘झिल्को’ले शैक्षिक क्षेत्र, अभिभावकत्व, र प्रविधिको प्रयोगबिचको जटिल सम्बन्धमाथि गहिरो बहस गराएको छ। यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखहरूले समेत हेर्नुपर्ने चलचित्रका रूपमा विश्लेषण गरिएको छ।
‘झोला’ निर्देशन यादवकुमार भट्टराईद्वारा निर्देशित यस फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ। फिल्मको पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो।
यस फिल्मले डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्र ‘झिल्को’ले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उठान गरेको छ।
चलचित्रको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरुपयोग, र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको छ।
Shares

प्रतिक्रिया