समाज


कक्षा १२ को प्रश्नपत्र बाहिरिएको गलत सूचना सम्प्रेषण गर्नेलाई कारबाही गर्ने बोर्डको चेतावनी

कक्षा १२ को प्रश्नपत्र बाहिरिएको गलत सूचना सम्प्रेषण गर्नेलाई कारबाही गर्ने बोर्डको चेतावनी

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १६:२४, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) सानोठिमीले १२ कक्षाको प्रश्नपत्र बाहिरिएको भनेर सामाजिक सञ्जालमा आएका सूचना भ्रमपूर्ण भएको जनाएको छ।

बोर्डले आइतबार विज्ञप्ति प्रकाशित गरी ‘सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको’ स्पष्ट पारेको छ।

कक्षा १२ को वार्षिक परीक्षा अन्तर्गत आज (वैशाख २१ गते) बिहान ८ बजेदेखि अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको थियो।

उक्त विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी कतिपयले सामाजिक सञ्जालमा राखेका थिए।

उक्त सूचनाको आधारमा जिल्ला परीक्षा समन्वय समिति, भक्तपुरका पदाधिकारी एवं जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारीज्यू र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको बोर्डले जनाएको छ।

परीक्षा जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्रहरू राखी भ्रम सिर्जना गर्ने उपर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको पनि परीक्षा बोर्डले स्पष्ट पारेको छ।

‘परीक्षा जस्तो संवेदनशील विषयमा गलत सूचना सम्प्रेषण गरी विद्यार्थीको मनोभावनामा चोट पुऱ्याउने गरी यस्तो कार्य नगर्नसमेत राष्ट्रिय परीक्षा बोर्ड सम्बन्धित सबैमा अनुरोध गर्दछ’ परीक्षा बोर्डले भनेको छ, ‘साथै विषयवस्तुको आधिकारिता पुष्टि नगरी यस्ता विषयहरू सामाजिक सञ्जालमा नराख्न समेत सबैमा अनुरोध छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad