समाज


शिक्षकसँगको वार्ता सकियो, जुट्न सकेन सहमति

शिक्षकसँगको वार्ता सकियो, जुट्न सकेन सहमति

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार २२:५५, काठमाडौँ

नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा गरिएको वार्तामा आज पनि सहमति जुट्न सकेन।

आफ्ना मुख्य माग समेटेर मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कुरा महासंघका तर्फबाट राखेको र त्यसमा ठोस निर्णय नभइसकेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन्।

उनका अनुसार आज मन्त्रिपरिषद्बाट हल हुन सक्ने बुँदामा आज छलफल भएको छ। भोलि फेरि छलफल गर्ने समझदारी भएको छ। 

राति ८ बजेदेखि चलेको वार्तामा शिक्षामन्त्री रघु पन्तका साथै गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए।

शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोली सहभागी भएको थियो।

करिब ३ घण्टासम्म वार्ता चलेको थियो।

वार्तास्थलबाट निस्केपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक दिशातर्फ अग्रसर रहेको र छिटोभन्दा छिटो टुंग्याउन प्रयत्नशील रहेको प्रतिक्रिया दिए। 

शिक्षक महासंघले सहमतिका लागि ९ वटा बुँदा सरकारसमक्ष प्रस्ताव गरेको छ। उक्त प्रस्तावअनुसार सरकारले निर्णय गरिदिए आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय महासंघले गरेको छ। 

कक्षा १२ को रोकिएको परीक्षाप्रति आफूहरु असाध्यै चिन्तित रहेको र अबको परीक्षामा सामेल हुने गरी निकासको खोजी भइरहेको सहअध्यक्ष पराजुलीको भनाइ थियो। 'परीक्षाप्रति हामी असाध्यै जिम्मेवार छौँ, परीक्षा हुन्छ,' उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad