ad ad

समाज


लकडाउनले सुदूरपश्चिमेलीलाई खल्लो बन्यो ‘चैतेलो’

लकडाउनले सुदूरपश्चिमेलीलाई खल्लो बन्यो ‘चैतेलो’

गोकुल जोशी
चैत १९, २०७६ बुधबार ११:२५,

‘छोरी यसपाली यस्तै भयो, भेटघाटका लागि आउन सकिन, अब अर्को साल नै हुन्छ होला.....।’

कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालास्थित छोरीसँगको फोनवार्तामा लकडाउनका कारण भेटघाट हुन नसकेको व्यथा सुनाउँदै थिए कञ्चनपुरको बेदकोट नगरपालिका–४ का विष्णु पन्त।

हरेक वर्षको चैत महिनामा सुदूरपश्चिमका मानिस भेटघाटका लागि कोसेलीसहित बिहे भइसकेका छोरीचेलीका घरमा जाने गर्दछन्। यसलाई स्थानीय बोलीचालीको भाषामा ‘भेटोँला’ वा ‘चैतेलो’ पर्व भनिन्छ। तर यस वर्ष भने कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै लकडाउन भएकाले यो पर्वको रौनक घटेको छ।

बेदकोट नगरपालिका–४ का विष्णु पन्त मात्रै होइनन्, अहिले सुदूरपश्चिमका कसैले पनि लकडाउनका कारण चैत महिनामा आफ्ना छोरीचेलीलाई भेटघाट गर्न सकेका छैनन्। प्रत्येक वर्ष चैत महिनामा छोरीलाई भेट्न जाने गरेको तर यसपाली लकडाउनले गर्दा भेट्न नसकेको पन्तले गुनासो गरे।

‘चैतको सुरुमा नै भेटघाट गर्न गइएन, पछि लकडाउन भयो, यसले गर्दा यसपालीको ‘चैतेलो’ पर्व मनाउन सकिएन’ उनले भने, ‘भेट्न नगए पनि फोनबाट नै छोरीसँग कुराकानी भएको छ।’

सुदूरपश्चिम र भारतको उत्तराखण्डमा मानिसहरू विगतका वर्षमा यतिबेला बिहे भइसकेका छोरीचेलीका घरमा कोसेली सहित जाने गर्दथे। स्थानीय बोलीचालीमा ‘भेटोँला’ वा ‘चैतेलो’ भनिने यो पर्वलाई भारत उत्तराखण्डको कुमाउँमा भने ‘भिटोली’ वा ‘छापरी’ भन्छन्।

यस पर्वमा चैत महिनाभरि कुनै समय मिलाएर पुरुषहरू आफ्ना दिदीबहिनी तथा छोरीचेलीको घरमा जाने प्रचलन रहेको छ। तर यस वर्षको ‘चैतेलो’ पर्व भने लकडाउनका कारण प्रभावित भएको छ।

प्राचीन कालदेखि नै अघिपछि खेतीपाती र घरगृहस्थीमा व्यस्त भए पनि वर्षको अन्तिम महिनामा बिहे भएका छोरीचेलीलाई माइती पक्षले माया र ममता प्रदर्शन गर्न एक चोटि भेट्ने परम्परा रहिआएको भीमदत्त नगरपालिका–१८ जानकी टोलका हरक बोहराले बताए। नेपाल र भारत दुवैतिर छोरीचेलीको घर जाँदा खाली हात नगएर कोसेली पनि लैजाने चलन छ।

कोसेलीमा सेल र अन्य परिकार तथा केही दक्षिणा हुने गर्छ। पहिलेपहिले चैत्र महिनामा गरिबीका कारण अनिकाल लाग्ने तथा घरमा भएका अन्न सकिने गर्थ्यो। त्यस्तो बेला दिदीबहिनीहरू भोकै पो छन् कि भनेर एक पटक भए पनि भेट्नु पर्छ भन्ने मान्यता सुरु भएको बुढापाकाहरू बताउँछन्। पछि यो पर्वको रूपमा मनाउन थालिएको हो।

आफ्ना दाजुभाई नभएका महिलालाई माइती पक्षका अरू पुरुष भेट्न जान्छन्। वसन्त ऋतुको आगमनसँगै कोइली कराउन थालेपछि छोरीचेलीलाई माइती पक्षको धेरै सम्झना आउने मान्यता छ।

चैतेलोमा माइतीबाट आफूलाई भेट्न कोही नआए दुःख लाग्ने भीमदत्त नगरपालिका पिपरियाकी धना जोशीको अनुभव छ।

‘यसपाली लकडाउनले गर्दा नै कोही आएनन्, फोनमा नै कुरा भयो’ उनले भनिन्, ‘यो महिनामा माइतबाट कोही नआउँदा दुःख लाछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .