समाज


तनहुँको व्यास नगरपालिका ७२ घरधुरीलाई स्वरोजगार

तनहुँको व्यास नगरपालिका ७२ घरधुरीलाई स्वरोजगार

नेपालखबर
असार २१, २०७६ शनिबार ६:६,

 तनहुँको व्यास नगरपालिका– १४ स्थित कुलुङमा रहेका ७२ घरधुरीलाई स्वरोजगारको व्यवस्था गरिएको छ। उक्त गाउँका बासिन्दालाई स्वरोजगार बनाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले स्वरोजगार कार्यक्रमको व्यवस्था मिलाइएको व्यास १४ नं वडाका वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कुलुङ गाउँमा रहेका उक्त घरधुरीमध्ये बीस घरमा अर्गानिक तरकारी खेती, बीस घरमा स्थानीय जातको कुखुरापालन, दश घरमा घरवास सञ्चालन गरिएको र बाइस घरलाई सोही क्षेत्रमा काम गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

गाउँका दश घरमा घरवास सञ्चालन गर्न प्रतिघर रु ४० हजार बराबरको आवश्यक सामग्री उपलब्ध गराउनुका साथै घरवासमा आउने पाहुनालाई स्थानीय जातको कुखुराको मासु र अर्गानिक तरकारी खुवाउने उद्देश्यले कुखुरा र तरकारी खेतीमा जोड दिइएको छ। तरकारी खेतीका लागि कृषकलाई आवश्यक बीउ, औषधि, ड्रम, पाइप र टनेल उपलब्ध गराइएको छ भने बीस घरलाई ३२ वटाका दरले कुखुरा निःशुल्क उपलब्ध, दाना, औषधि र तालीमको व्यवस्था प्रदान गरिएको छ।

गाउँमा घरवास सञ्चालन गर्नुपूर्व यहाँका घरवास सञ्चालकलाई गोरखाको बारपार्कस्थित घरवासको भ्रमण गराएर कसरी घरवास चलाउनुपर्छ भन्ने ज्ञानसमेत प्रदान गरिएको छ। अहिले उक्त गाउँका मानिसमा खुशियाली छाएको छ।

मगर बस्ती रहेको कुलुङ गाउँका प्रत्येक घरमा अव्यवस्थित रुपमा सुँगुर पाल्दै आएकाले खोर व्यवस्थापन गरिएको छ। घरसँगै जोडेर सुँगुरको खोर निर्माण गरी सुँगुर पाल्दा दुर्गन्ध भोग्दै आएका त्यस क्षेत्रका स्थानीयले अहिले घरदेखि टाढा सुँगुर पाल्न थालेपछि वातावरणमा सुधार आएको वडाध्यक्ष श्रेष्ठले बताए। ‘घर नजिकबाट सुँगुरको खोर हटाउनु आफ्नो लागि चुनौतीको विषय थियो’ उनले भने। अहिले उनीहरुमा चेतनाको वृद्धि भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .