आन्दोलनरत शिक्षकले सरकारसँगको वार्ता र सडक आन्दोलनलाई सँगसँगै लैजाने भएका छन्।
आज सरकारसँग निर्णायक वार्ता गर्न लागेका शिक्षकले राजधानी केन्द्रीत सडक आन्दोलनलाई पनि निरन्तरता दिने भएका हुन्।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि निर्धारित समयमै सडक आन्दोलनमा आउन शिक्षकहरुलाई आह्वान गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो आह्वान गरेका हुन्। सरकार र शिक्षक प्रतिनिधिबीच शनिबार बिहान साढे सात बजेदेखि शिक्षा मन्त्रालयमा आज वार्ता हुने तयारी छ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले पनि शिक्षामन्त्रीसँग सिंहदरबारमा वार्ता भए पनि शिक्षक आन्दोलन निरन्तर जारी रहने बताइन्।
‘खासमा आज शिक्षामन्त्रीसँग हुने भनेको भेटघाट मात्रै हो, वार्ता होइन,’ उनले नेपालखबरसँग भनिन्, ‘शिक्षामन्त्री नयाँ आउनु भएको छ, हामी उहाँलाई आफ्ना कुरा सुनाउँछौँ। शिक्षा ऐन ल्याउने संसद्ले हो। उहाँले हाम्रा माग पूरा गर्ने पनि होइन।’

Shares

प्रतिक्रिया