समाज


बढेको निर्वाह भत्ता नदिएसम्म निजी मेडिकल कलेजसँग सरकारले सहकार्य नगर्ने

बढेको निर्वाह भत्ता नदिएसम्म निजी मेडिकल कलेजसँग सरकारले सहकार्य नगर्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १४:२८, काठमाडौँ

नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग वार्ता गरेका छन्। मन्त्रालयमा केहीबेरअघि सकिएको वार्तामा मन्त्री पौडेलले चिकित्सकको बढेको निर्वाह भत्ता कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताए। 

मन्त्रीले निजी मेडिकल कलेज सञ्चालकले निर्वाह भत्ता नदिएसम्म सरकारले उनीहरूसँग सम्बन्धित अरु काम नगर्ने बताएका हुन्। 

'निर्वाह भत्ता बढेको छ र यो बढेको निर्वाह भत्ता कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौँ,' उनले चिकित्सकका प्रतिनिधिसँग भने, 'निर्वाह भत्ता नबढेसम्म निजी मेडिकल कलेजसँग सम्बन्धित अरु काम अघि बढ्दैन।'

वार्तामा स्वास्थमन्त्री पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावललगायत थिए।  

सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु विरोध प्रदर्शन गर्दै आएका छन्।

उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सकको चेतावनी छ। 

चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो। तर निजी मेडिकल कलेजले अटेर गरिरहेका छन्।  

मन्त्री पौडेलले माग सम्बोधन गर्न आफूले काम गर्ने र नियमित बिरामी जाँचका लागि फर्किन चिकित्सकहरूलाई आग्रह गरे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad