कर्णाली


हुम्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी, साक्षरता दर ९६ प्रतिशत

हुम्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी, साक्षरता दर ९६ प्रतिशत

हुम्लाको सदरमुकाम सिमकोट बजारको एरियल भ्यू। तस्बिरः कृष्ण पौड्याल


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १४:४४, सिमकोट (हुम्ला)

आगामी जेठ ९ गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ। यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव शून्य चार प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो।

जिल्लाका सातवटै स्थानीय तह साक्षर पालिका घोषणा भइसकेकाले आगामी जेठ ९ गते साक्षर जिल्ला घाषणा गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाई समितिले जनाएको छ। आज बिहान समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदण्ड र शर्तहरू पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाइएको छ।

जिल्लामा १५ देखि ६० उमेर समूहका ३५ हजार ३५४ जनसङख्यामध्ये ३३ हजार ९५४ अर्थात् ९६ दशमलव शून्य चार प्रतिशत साक्षर भएपछि घोषणाको तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख योगेश आले मगरले बताए। 

उनका अनुसार नाम्खाका ९६ दशमलव १६, सिमकोटका ९५ दशमलव छ, खार्पुनाथका ९५ दशमलव पाँच, सर्केगाडका ९५ दशमलव ७४, चङ्खेलीका ९५ दशमलव २४, अदानचुलीका ९५ दशमलव २८ र ताँजकोट गाउँपालिकाका ९८ दशमलव २८ प्रतिशत नागरिक साक्षर भएका छन्। 

साक्षर नेपाल घोषणा अभियान-२०७६ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएपछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको जिल्ला समन्वय समितिका प्रमुख शर्माले जानकारी दिए। लामो प्रयास पछि जिल्ला साक्षर घोषणा हुन लागेकामा खुसी व्यक्त गर्दै उनले यसमा सबैको अनिवार्य सहयोगको आवश्यकता औँल्याए। साक्षर जिल्ला घोषणाका लागि यहाँस्थित सामाजिक विकास कार्यालयले आर्थिक सहयोग गर्ने कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले जानकारी दिए। 

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्द, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख प्रशासकीय अधिकृत वर्ष फडेरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष राजन रावतलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad