बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) पश्चिमका एक दर्जनभन्दा बढी जिल्लाका खोलानालामा बाढी आउने सम्भावना रहेकाे उल्लेख गर्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेकाे छ।
महाशाखाका अनुसार आज डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने, केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ।
यसैकारण वर्षा हुँदा सतर्क रहन महाशाखाले नदी आसपासका बासिन्दालाई आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले पनि पश्चिम क्षेत्रमा शुक्रबार रातिदेखि नै पानी परिरहेको र आज एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
आज, भोलि र पर्सिसम्म देशका प्रमुख र मझौला नदीमा भने बाढीको जोखिम न्यून रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया