समाज


आन्दोलनरत शिक्षक अगुवासँग कांग्रेस महामन्त्रीद्वयको छलफल

आन्दोलनरत शिक्षक अगुवासँग कांग्रेस महामन्त्रीद्वयको छलफल

नेपालखबर
बैशाख २, २०८२ मंगलबार ८:२८, काठमाडौँ

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेसहितका विभिन्न माग गर्दै विगत दुई सातादेखि काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका शिक्षक अगुवासँग नेपाली कांग्रेसका दुईजना महामन्त्रीले आज छलफल गरेका छन्। 

कांग्रस महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा शिक्षकहरुसँग छलफल गरेका हुन्। 

छलफलका क्रममा उनीहरुले शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरेका महामन्त्री थापाको सचिवालयले जनाएको छ। 

आन्दोलनरत शिक्षकहरुसँग सरकारले यसबीचमा दुईपटक वार्ता गरे पनि कुनै निष्कर्ष निस्किएको छैन।

नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँको माईतीघर मण्डलमा भेला भएर शिक्षकहरुले अनिश्चितकालीन शैक्षिक हड्तालसहित आन्दोलन गरिहेका छन्।  एक सातासम्म शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरुले चैत २६ गतेदेखि देशव्यापी शैक्षिक हड्तालसहित आन्दोनल जारी राखेका छन्। 

सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने आन्दोलनरत शिक्षकको मुख्य माग छ। लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासिन बनेको आरोप लाग्दै आएको छ। 

संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरु विकल्प नरहेको नेपाल शिक्षक महासंघले जनाएको छ। 

शिक्षकहरुको हड्तालले विद्यार्थी भर्ना अभियान पनि प्रभावित भएको छ। आज (वैशाख २ गते) देखि  देशभरका विद्यालयमा नयाँ विद्यार्थी भर्ना तथा घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका छ। 

गत वर्ष पनि यही माग राखेर शिक्षकहरुले आन्दोलन गरेका थिए। आन्दोलनपश्चात २०८० साल चैत २० गते माग सम्बोधन गर्ने गरी सरकारसँग सहमती भएको थियो। तर एक वर्ष बित्दासमेत सरकारले सहमती कार्यान्वयन नगरेपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad