समाज


सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने

सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने

नेपालखबर
चैत २८, २०८१ बिहिबार १५:८, काठमाडौँ

जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ।

चिडियाखानाद्वारा आज यहाँ आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

उनले भने, ‘त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ।’ चिडियाखाना हाल विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ।

चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गरे। उनले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको बताए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको सम्बर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गरे। साथै उनले आफू प्रमुख भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनःरुत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराए।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताए।

कोषका सदस्य सचिव डा नरेश सुवेदीले प्रकृति र संस्कृतिलाई सँगै जोड्ने उदेश्यले चिडियाखानाभित्र रहेको स्थानीय समुदायको कुल देवताको मन्दिर र फल्चाको निर्माण गरिएको बताए। उनले सेवाग्राहीको चाहनाअनुसार चिडियाखानामा सिंह र जेब्रा  ल्याउनका लागि पहल भइरहेको जानकारी गराए।

कार्यक्रममा सदर चिडियाखानाका प्रमुख सत्यनारायण साह, ललिपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खडका र स्थानीय गुठीका अध्यक्ष राजेन्द्र महर्जनले कुल देवताको मन्दिर र फल्चाको निर्माणले चिडियाखानाको संरक्षण र संबर्द्धनमा स्थानीयको अपनत्व थपिने उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad