समाज


फोटो पत्रकारको सुरक्षा सुनिश्चितताका लागि पहल गरिदिन राष्ट्रपतिसँग आग्रह

फोटो पत्रकारको सुरक्षा सुनिश्चितताका लागि पहल गरिदिन राष्ट्रपतिसँग आग्रह

नेपालखबर
चैत २६, २०८१ मंगलबार १८:७, काठमाडौँ

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट तथा छलफल गरेको छ। आज एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको सुरक्षा चुनौतीलगायतका  विषयमा छलफल गरेको हो।

भेटमा राष्ट्रपति पौडेलले भने, ‘तपाइँहरूले खिच्नुभएका तस्बिरले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यसकारण, राज्यले तपाइँहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ।’

सो क्रममा अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न जीवन बिमालगायतका सुविधा उपलब्ध गराउन पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गरे।

उनले भने, ‘फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा रहेर काम गर्नु परिरहेको बाध्यात्मक अवस्था छ। राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन बिमालगायतको सुविधा उपलब्ध गराउनुपर्छ।’

राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरताका साथ लिएको र यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका महासचिव घनश्याम श्रेष्ठले बताए।
एनएफपीजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५ को प्रमुख अतिथिका रुपमा सहभागी भई दिन राष्ट्रपतिलाई आग्रह गरेको छ।

भेटघाटमा एनएफपीजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ, उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रवीन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठलगायत अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad