समाज


हराउँदै चैते दसैँ मेलाको मौलिकता

हराउँदै चैते दसैँ मेलाको मौलिकता

नेपालखबर
चैत २३, २०८१ शनिबार १९:५६, गलकोट (बागलुङ)

‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’
‘बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’

चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो। बागलुङको चैतै दसैँ  मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको रूपमा रहेको पनि गीतले भाव बोकेको छ।

चैते दसैँ मेलामा भेटिएका पुनःअर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै पहिले गीतमा उतारेका थिए। गीतमा भनेजस्तै स्थानीय उत्पादनको खरिद बिक्रीसँगै माया पिरतीका लागिसमेत चैते दसैँ मेला प्रख्यात मानिन्छ। चैते दसैँमा गाइने लोकदोहरीमार्फत सयौँ कलाकारसमेत बागलुङले जन्माइसकेको छ।

चैते दसैँको अवसरमा यस वर्ष पनि बागलुङ कालिका मन्दिर परिसरमा बुधबारदेखि मेला लागेको छ। यहाँको माहोल हेर्दा मेला फेरिएजस्तै यससँग सम्बन्धित मौलिक भाकासमेत फेरिएका छन्। यस वर्ष मात्रै होइन हुन त ऐतिहासिक मानिएको यो मेला हरेक वर्ष फेरिँदै गएको स्थानीयले आभाष गरिरहेका छन्। पछिल्ला वर्षमा चैते दसैँको अवसरमा गाइने मौलिक भाकासमेत हराएका छन् तर रमाइलो मेलामा आकर्षण बढेको छ। कालिका मन्दिर दर्शन गर्न आउने र वर्षभरिलाई आवश्यक सामग्री खरिद बिक्री गर्ने कार्यसमेत परिवर्तन भएको छ।

चैते दसैँको अवसरमा गाइने ‘एउटो पैसो कहिलेलाई चैते दसैँलाई’ भन्ने गीत अचेल सुनिन छाडेको छ। यस्तै, ‘रेरे साइलो’, ‘यानीमया’, ‘ठाडो भाका’ र ‘सालैजो’जस्ता मौलिक भाका सुनिएका छैनन्। हाल मेलामा रामाइलोका लागि बजाउने आधुनिक गीत मात्रै सुनिने गरेका छन्। आयातित सामग्री खरिद बिक्री गर्ने र रेकर्ड गरिएका तिनै गीतमा नाँच गान गर्ने गरिन्छ। यसपटक पनि मेलामा हालिने लिङ्गे पिङ र चर्खेपिङ्को सट्टा रमाइलो झुला (आधुनिक पिङ) राखिएको छ। स्थानीय ८० वर्षीय दुर्गाबहादुर आचार्यलाई चैते दसैँ मेलाको मौलिकता पछिल्लो दशकदेखि नै फेरिँदै गएको आभाष हुन थालेको छ। त्यो क्रम हरेक वर्षजस्तै बढ्दै छ।

स्थानीय बिमल श्रीसका अनुसार मेलामा प्लाष्टिकका सामग्रीको खरिद बिक्री भइरहेको तर ठेका तथा डालोको बिक्री हुन छोडेको छ।

‘चैते दसैँ मेला पहिले र अहिलेसँग तुलाना नै हुँदैन। पहिले मिठो मसिनो खान र राम्रो वस्तु खरिद गर्न चैते दसैँ आउनुपर्दथ्यो, अहिले त मेला आधुनिक बनिसक्यो। स्थानीय सामग्री डाला, नाङ्ला र ठेकीको व्यापार छैन’, उनले भने, ‘रातभरि रेरे साइलो, सालैजो गीत गाएर जाग्राम बसिन्थ्यो, अहिले त कलकारले बनावटी गीतमा लय भर्छन्। पहिला जस्तो मौलिकता छैन। गाउँ–गाउँमा मेला पर्वहरू लाग्न थाले, चैते दसैँ मेलाप्रतिको चाख घटेको छ।’

चैते दसैँ मेला र यहाँको कालिका मन्दिरसँगै जोडिएर आउँछन्। जिल्लाको आर्थिक, सामाजिक र सांस्कृति विकासमा कालिका मन्दिरको छुट्टै महत्व छ।  यो बागलुङ जिल्लालाई चिनाउने एउटा माध्यम पनि हो। चैते दसैँले त्यसमा थप रौनक थप्छ। त्यसैले यो मन्दिर र मेलालाई एक सिक्काका दुई पाटाका रूपमा प्रस्तुत गर्दै  थुप्रै गीत पनि गाइएका छन्।

‘पहिला चैते दसैँ लोकदोहोरी गाउँने चौतारी जस्तौ थियो, यहाँ गीत गाएर बागलुङका सयौँ कलाकार राष्ट्रिय कलाकार बने’, स्थानीय राम शर्माले भने, ‘अहिले तिनै कलाकारले चैते दसैँ बिर्सेका छन्, जसले मेलाको महत्वसमेत घट्दै छ। पहिले चैते दशैको दोहोरीको देशभरि चर्चा हुन्थ्यो, अहिले दोहोरीभन्दा अन्य तयारी गीतमा जोड दिइएको छ।’

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले चैते दसैँ मेला बागलुङको मौलिक परम्पराजस्तै बनेपनि आधुनिकताको प्रभावले मौलिकता जोगाउन नसकिएको बताए। उनले दर्शकको स्वभाव र रचिअनुसार हाल मेलाको व्यवस्थापन गर्ने गरिएको बताए।

‘ठेका, डालो र नाङ्लो जस्ता स्थानीय मौलिक उत्पादनका स्टलललाई निःशुल्क गरेका छौँ तर उनीहरूको भन्दा प्लाष्टिकजन्य सामाग्रीको खरिदबिक्री बढी हुन्छ’, उनले भने, ‘भजन, रत्यौली र यानीमयाजस्ता गीत प्रदर्शन गर्न थालेका छौँ तर पहिला जस्तो रातभर जाग्राम बसेर मौलिक गीत गाउँने चलन छैन।’

मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादनहरू कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, आँसी, बाउसा, मान्द्रो, थुन्से, मादल, भाडाँकुडालगायत दैनिक उपभोग्य वस्तुहरू खरिद बिक्री हुने गरेकामा हाल खेलौनाजन्य सामग्री, मदिरा र खानाका परिकार मात्रै बिक्री वितरण हुने गरेकाले व्यापारीहरू पनि त्यसैमा लागेका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad