समाज


क्यानडा क्रिकेट टिमका कप्तान निकोलस किर्टन पक्राउ

क्यानडा क्रिकेट टिमका कप्तान निकोलस किर्टन पक्राउ

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १४:९, काठमाडौँ

क्यानडाका पुरुष क्रिकेट टिमका कप्तान निकोलस किर्टन पक्राउ परेका छन्। ९ किलो गाँजा बोकेको आरोपमा किर्टनलाई गत आइतबारदेखि नै बार्बाडोसमा प्रहरी हिरासतमा लिएको क्रिकेट क्यानडाले पुष्टि गरेको छ। क्रिकेट क्यानडाले परिस्थितिको निगरानी गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ। 

राष्ट्रिय टोलीका खेलाडी निकोलस किर्टनलाई लगाइएको आरोप र थुनामा राखिएको विषयमा प्रहरीले क्रिकेट क्यानडालाई जानकारी गराएको छ।

बोर्डले एक विज्ञप्तिमा भनेको छ, ‘हामी परिस्थितिको सक्रिय रूपमा निगरानी गरिरहेका छौँ। घटनाक्रमहरूलाई नजिकबाट नियालीरहेका छौँ। क्रिकेट क्यानडा पारदर्शिता सुनिश्चित गर्न प्रतिबद्ध छ र थप विवरणहरू उपलब्ध हुने बित्तिकै जानकारी गराउनेछौँ।’

यो विषयलाई गम्भीरतापूर्वक लिएको र खेल भित्र इमानदारी र जवाफदेहिताको उच्चतम मापदण्ड कायम राख्न दृढ रहेको पनि क्रिकेट संघले जनाएको छ। 

यो अवस्थापछि पनि आफ्नो टोली आगामी अप्रिल १८ मा सुरु हुने उत्तरी अमेरिका कपको तयारीमा पूर्ण रूपमा केन्द्रित रहेको जानकारी दिएको छ।

उत्तरी अमेरिका कपमा क्यानडाले बहामास, बर्मुडा, केम्यान टापु र संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। किर्टनले क्यानडाका लागि २१ एकदिवसीय खेल खेलेका छन्। जसमा उनले ५१४ रन बनाएका छन्। २८ टी–२० खेलेमा ६२७ रन बनाएका छन्। २०२० मा, उनले जमैका तल्लावाहका लागि तीन क्यारेबियन प्रिमियर लिग खेलेका थिए। 

क्यानडामा बसाइँ सर्नुअघि, उनले वेस्ट इन्डिज अन्डर–१९ र बार्बाडोसका लागि खेलेका थिए। उनले पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सबाट खेलेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad