भारतीय दलित अधिकार अभियन्ता डा. सुरज येङ्देले जातीय आरक्षण व्यवस्था अझै चर्को हुनुपर्ने बताएका छन्।
समता फाउन्डेसनले शुक्रबार ललितपुरमा आयोजना गरेको ‘जातीय मुद्दा किन’ विषयक छलफलकार्यक्रममा अभियन्ता डा. येङ्देले दलित समूदायका लागि केही सिट छुट्याएर मात्र नहुने भन्दै अझ धेरै सकारात्मक विभेद हुनुपर्ने बताए।
उनले भने, ‘तल्लो जातिका मानिसलाई पनि सर्वोच्च पदसम्म पुग्न सहयोग गर्ने प्रणाली चाहिन्छ।’
जातीय तथा संस्थागत विभेद, रंगभेद, विविधता र समावेशिताका मुद्दाबारे अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा मुख्य वक्ता रहँदै आएका डा. येङ्दे अफ्रिकाको University of Witwatersrand, Johannesburg बाट विद्यावारिधि गर्ने पहिलो भारतीय दलित हुन् ।
कार्यक्रममा उनले कतिपय मानिसहरु आरक्षणको विरोध गरिरहेको भन्दै आरक्षण नै हटाइदिए तल्लो तहको मान्छे अझै पछि पर्ने बताए। उनले समानता भएकै दिन दलित आफैले आरक्षण छोड्रने दाबी पनि गरे। ‘तपाईंले दलितलाई दोस्रो तहका मानिसका रूपमा, आफूभन्दा भिन्न वा अन्यका रूपमा व्यवहार गर्ने काम नटुङ्ग्याएसम्म आरक्षण जारी रहन्छ। यस विषयमा धेरै टाउको दुखाउनै पदैन। समानता कायम भएको दिन दलित आफैँले आरक्षणलाई छाड्नेछन्’ उनले भने।
उनले आरक्षण अन्त्य गर्न हरेक जातिको जनसंख्याका आधारमा सिट निश्चित हुनुपर्ने बताए। ‘हामी आरक्षण अन्त्य गर्नै चाहान्छौँ भने सबै जातजातिका लागि समानुपातिक सिट विभाजन गरौँ न त। बाहुनको जनसङ्ख्या १२ प्रतिशत भए, त्यति नै सिट दिऔँ। हरेक समुदायलाई आ–आफ्नो आकार अनुसार प्रतिनिधित्व गर्न दिऔँ’ उनले भने।
आयोजक समता फाउण्डेशन दलित तथा सीमान्तकृत समुदायको अध्ययन अनुसन्धान गरी नीतिगत पैरवीमार्फत सबै प्रकारका जातीय विभेद अन्त्य गर्नलाई क्रियाशील संस्था हो। कार्यक्रममा टिप्पणीकर्ताका रुपमा लेखक तथा स्तम्भकार उज्ज्वल प्रसाई र लेखक तथा सामाजिक अभियन्ता सरिता परियारले टिप्पणी गरेका अभियन्ता विकास राईले जानकारी दिए।
Shares

प्रतिक्रिया