पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छट्टु ज्वाईं’को कथा स्मरण गराएका छन्।
आफूलाई कथाबाट व्यंग्य गर्ने प्रधानमन्त्रीलाई कथाबाटै जवाफ फर्काउँदै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत पुरानो लोककथा स्मरण गराएका हुन्। उनले प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै कथामा एकजना निदुली नाम गरेका छट्टु ज्वाईं कसरी आफूलाई नामी ज्योतिष भएको भ्रम दिन सफल हुन्छ भन्ने कुरा देखाएका छन्।
शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले डा. भट्टराईको विद्धताप्रति व्यंग्य गर्दै ‘भ्यागुताको कथा’ भनेका थिए। सोही व्यंग्यको जवाफ डा. भट्टराईले यसरी फर्काएका छन्।
डा भट्टराई फेसबुकमा लेख्छन्:
‘हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ! त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि?
कथा यस्तो छ-
निदुली बाहुन साँझमा ससुराली पुगेछन्। सासू भित्र सेलरोटी पकाउँदै रहिछन्। ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन्! पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन्! ज्वाइँले भनेछन्-‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चार?’ ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्।
गाउँमा धोबीको गधा हराएको रहेछ।धोबीले ज्वाइँसँग हराएको गधा पत्ता लगाइदिन भनेछन् !अब पर्यो फ़साद! भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबै सुतेपछि ज्वाइँले टाप कसेछन्। भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन्! के खोज्छस् दृष्टिविहीन,आँखा! ज्वाइँ ससुराली घर फर्केर सुतेछन्!
भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन्! अब के चाहियो? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ। राजाले दरबारमा बोलाएछन् र हराएका हीरा-जवाहरत पत्ता लगाउन भनेछन्। बस्न कोठा दिएछन्! अब पर्यो महाफसाद! भागौं,पहरा छ! कोठामै बर्बराएछन्-‘रोटी गनीगनी जैसी कहाएँ; धोबीको गधा उखुवारी पाएँ; अब आयो निदूली तेरै काल!’
पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ! उसको नाउँ पनि निदूली रहेछ! उसले रूँदै आएर भनिछ-‘बाजे मेरो ज्यान बचाइदिनोस्, हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु।’ निदूली राजज्योतिषी बनेर धनधान्य भएछन! अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो!’

प्रतिक्रिया