साउन-भदौतिर तीनकुनेस्थित सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा रहेको भवनको पहिलो तला भाडामा लिन केही मानिस आए।
भर्खरै भेटेरीनरी अस्पताल सरेर खाली भएको फ्ल्याट भाडामा दिन सकिने तर सहकारी संस्थाको भवन भएकाले केही प्रक्रिया पूरा गर्नुपर्ने सहकारीका सञ्चालक प्रेमबहादुर श्रेष्ठले उनीहरूलाई बताए।
उनले अघि सारेका सबै सर्त र प्रक्रिया पूरा गर्न ती मानिस तयार भए। भाडामा कुरा मिल्यो- २३ हजार ५ सय। त्यसपछि तालाचाबी जिम्मा दिए।
नेपाल अडिटर एसोसिएसनका महासचिवसमेत रहेका श्रेष्ठको कार्यालय पनि सोही भवनको चौथो तलामा छ।
भवनको फ्ल्याट सकभर खाली नराखौँ भन्ने विचारले भाडामा दिने निर्णयमा पुगेको उनी सुनाउँछन्।
तर, सबै सर्त मान्न तयार भएका युवाहरूले कुनै कागजात ल्याएनन्। उनले पटकपटक ल्याउन आग्रह गरिरहे। केही सीप नचलेपछि ७ दिनको अल्टिमेटम दिए।
त्यसपछि ती युवाहरू देखिएनन्, फ्ल्याट नै छाडेर भागिसकेपछि मात्र श्रेष्ठले चाल पाए।
भाडा नतिरी जुन फ्ल्याटबाट मानिस भागेका थिए, त्यसैमा चैत १५ गते राजावादीहरूले आगो लगाइदिए। आगजनीले चारतले सो भवन सखाप भएको छ।
आगोले भवनभित्रका सबै सामान खरानी बनेको छ। केही सग्लो छैन। श्रेष्ठ अहिले दैनिक गएर भवन हेर्छन्, तस्बिर खिच्छन् र निराश बनेर फर्कन्छन्।
राजावादीको अराजक भीडले सोही घरलाई किन निसाना बनायो, उनी ठम्याउन सकिरहेका छैनन्। अनेकथरीका भिडिओ फुटेज उनले हेरिसके। थरीथरीका तर्क सुनिसके। तर, वास्तविकता पत्ता लागेको छैन।
सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बोर्ड भएकाले सोही घर प्रदर्शनकारीको तारो बनेको हुन सक्ने अड्कल उनी गर्छन्।
तथापि उनलाई केही महिनाअगाडि सो भवनको एउटा फ्ल्याट भाडामा लिएर बसेका मानिसहरूको याद आइरहेको छ। उनी शंकाको सुई त्यता पनि तेर्स्याउँछन्।
उनका अनुसार ती मान्छे दुर्गा प्रसाईंकै थिए।
‘जुन कोठाबाट आगो लगाइएको भनिएको छ, ७/८ महिनाअघि दुर्गा प्रसाईंका मान्छेले भाडामा लिएका थिए। ६० दिन अनसन बस्यौँ, हामीलाई अफिस राख्न भाडामा चाहियो, अहिले दुर्गा प्रसाईंसँग सम्बन्ध छैन भन्ने कुरा गर्थे। फटाहा रहेछ भन्दै उनीसँग छुट्टिएको बताउँथे,’ श्रेष्ठले मंगलबार नेपालखबरसँग भने, ‘झन् भाडा पनि घटाएर दिएँ। पछि त एक महिनाको भाडा नतिरी भागे।’

फोन आयो : तपाईंको अफिस जलाए
भुइँतलामा स्टेसनरी, पहिलो तलामा स्टेसनरीको गोदाम। दोस्रोमा कुरियर। त्यसभन्दा माथि ल फर्म र चौथो तलामा अडिटरको अफिस।
त्यही भवनको तेस्रो तलामा चैत १५ गते पत्रकार सुरेश रजक जलाएर मारिए।
जुन उत्पातका कमान्डर उनै दुर्गा प्रसाईं थिए। प्रसाईं तीनकुने आएलगत्तै प्रदर्शन हिंसात्मक भयो। एकैछिनमा यो क्षेत्र रणमैदान बन्यो। हिंस्रक भीडले निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी गर्यो।
उनीहरूले पहिलो निसाना त्यही घरलाई बनाए। सटर फोर्दै, चेन गेट तोड्दै भवनभित्र पसेको अराजक जत्थाले लुटपाटसहित पहिलो तलाबाटै आगो लगाइदिएको प्रत्यक्षदर्शीबाट सुनेको श्रेष्ठ बताउँछन्।
त्यही दिन (चैत १५ गते) नेपाल अडिटर एसोसिएसनको कार्यसमिति बैठक थियो।
तर, भौतिक रूपमा बैठक राख्ने स्थिति नभएपछि भर्चुअल राखियो। बैठकका कारण नयाँ बानेश्वरमा रहेका उनी दिउँसो सवा २ बजेसम्म कतै निस्कन पाएनन्। सञ्चारमाध्यम हेर्ने कुरै भएन।
‘खाजा खान निस्किँदा ३ जति बज्न लागेको थियो होला, फोन आयो। सहकारीको घरमा आगो लगाएको कुरा सुनाए,’ श्रेष्ठले त्यो दिनको सम्झना गर्दै थपे, ‘अनि मैले तत्काल दमकललाई फोन गरेँ। आफू भने नयाँ बानेश्वर अवरुद्ध भएकाले शंखमूलको बाटो हुँदै तीनकुने पुग्दा साढे ३ जति बजेको थियो। घर पूरै क्षति भएको रहेछ। दमकललाई त पुग्नै दिएको रहेनछ। दमकल त फर्काइएको सुनेँ।’
आफ्नै अडिटर कार्यालय दनदनी बलेको देख्दा उनले केही सोच्नै सकेनन्। यद्यपि, सहकारीका सञ्चालकलाई जानकारी गराए। र, प्रत्यक्षदर्शीसँग त्यहाँको घटना विवरण लिन थाले।
‘त्यो सहकारीको भवनमा केही छ कि भनेर टार्गेट गराएको हुन सक्छ र त्यहाँ सहकारीको कार्यालय थिएन,’ उनी लख काट्छन्।
केहीबेर तोडफोड गरेपछि आगलागी गराएको उनलाई कसैले सुनायो।
‘त्यो बेलामा दोस्रो तलामा कुरियर गर्ने साथीहरू मात्र हुनुहुँदो रहेछ। ढुंगामुढा हुन थालेपछि उहाँहरूले तलैदेखि सटर बन्द गरेर च्यानल गेट लगाएर बस्नुभएको रहेछ,’ श्रेष्ठले सुनाए, ‘भीडबाट आएर लुटपाट गर्न खोजे। सहकारीको भवनमा केही नपाएपछि आगो लगाएछन्।’
सहकारीका कोषाध्यक्ष अर्जुन भण्डारी पनि लुटपाट गर्नकै लागि भवनमा आगो लगाएको आशंका गर्छन्।
५ वर्षअघि सो भवन किनिएको सुनाउँदै उनी भन्छन्, ‘मौका छोपेर बसेको समूहले आगो लगाएको हुन सक्छ।’
भवन पूरै जल्दा १ करोड बराबरको क्षति भएको उनको अनुमान छ।
सो क्षेत्रमा सरकारले नै प्रदर्शन गर्न दिएकामा समेत उनले असन्तुष्टि जनाए।
पत्रकार रजक जलाइएकै फ्ल्याटमा ल फर्म चलाइरहेका अधिवक्ता राज सुवाल पनि लुटपाटपछि आगजनी गरिएको सुनाउँछन्।
प्रहरीले कौसीमा बसेर अश्रुग्यास प्रहार गरेको भन्ने हल्लाचाहिँ असत्य भएको दाबी उनको छ।
यद्यपि त्यस दिन अधिवक्ता सुवाल भक्तपुरमा थिए।
उनका अनुसार ल फर्ममा अर्का साथी मात्र थिए। उनी पनि बिहान ११ बजे कार्यालय बन्द गरेर अदालततिर गइसकेका थिए।
दिउँसो २ बजेतिर सो क्षेत्रमा उपद्रव मच्चियो। सुवालले कार्यालय रहेको भवन जलिरहेको भिडिओ देखे।
उनलाई अचम्म लाग्यो- त्यत्रो सटर र चेनगेट पार गर्दै भीड कसरी भवनमा प्रवेश गर्यो?
२ जना मान्छेले पनि लडाउन नसक्ने दराज लडाएर सिसा फुटाउँदै भित्र छिरेको र सबै तोडफोड भएको उनले बताए।

‘हाम्रो अफिसबाट त सात-आठ वर्षअगाडि ८० हजार तिरेर किनेको काठको मूर्ति लुटेर लगेछ। त्यो जलेको अवशेष पनि छैन। खरानी पनि छैन’, सुवालले भने।
प्रदर्शनको नाममा ठूलो अपराध गरिएको उनी बताउँछन्।
‘राजावादी प्रदर्शनकारीलाई बन्द भएको अफिससँग केको सरोकार? अनि तिनलाई अपराधी नभनी के भन्ने हो र? यो त ठूलो अपराध हो नि,’ उनी भन्छन्।
उनलाई आफ्नो अफिस जलेर जति दुःख लागेको छ, त्योभन्दा बढी दु:खी पत्रकार सुरेश रजकको मृत्युका विषयमा बाहिर आएका हल्लाले बनाएको छ।
‘बदमासी गर्नेहरू भाग्न पाए। पत्रकार कसरी निसासिएर मर्छ? दुई तलामुनि आगो लागेको छ, दुई तलामाथिको मान्छे निसासिएर मर्छ’, सुवाल प्रश्न गर्छन्, ‘त्यो आगो पनि कागज जलेको हो। अरू केमिकल जलेको होइन। केमिकल भएको भए पनि बेहोस भएर भाग्न नसकेको भनी पत्याउन सकिन्थ्यो। तर त्यहाँ कागज मात्र थिए, कसैले केही गर्यो।’
Shares

प्रतिक्रिया