मंगलबारका लागि आह्वान गरिएको बागमती प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगन गरिएको छ।
बैठक दिउँसो १ बजे बस्ने भनिएको थियो। सदन बैठकमा सहभागी हुन आएका प्रदेश सांसदहरू दिनभर कुरेर बसे।
संसद् सञ्चालनकै लागि भनेर प्रदेशसभा सभामुख भुवन पाठकले बिहान सर्वदलीय बैठक पनि राखे। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सातै दलका नेता बैठकमा सहभागी भए। बिहान ९ बजे सुरु भएको सर्वदलीय बैठक झन्डै ४ घण्टा बस्यो। तर निचोडबिना नै टुंगियो।
प्रतिपक्षी दलहरूले दुई विषयमा अडान राखे। बजेटका विषयमा भएको सहमति कार्यान्वयन र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिव मृत्युबारे छानबिन हुनुपर्ने उनीहरूको माग थियो।
आज प्रदेशसभा बैठकमा दुई विधेयक पेस हुने सम्भावित कार्यसूची थियो। सबै दलका सांसद सदनमा उपस्थित थिए। छानबिन समिति गठन गर्न सरकार पक्ष राजी भयो। तर बजेट कार्यान्वयनका विषयमा विपक्षीलाई चित्तबुझ्दो जवाफ आएन।
समान बजेट बाँडफाँड, गत असोजमा आएको बाढीबाट पीडित नागरिकलाई क्षतिपूर्ति दिने विषयमा सहमति नजुटेको नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद खनालले बताए। साँझ ७ः३० बजेसम्म पनि सहमति जुट्न नसकेको उनले बताए।
दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरूबीच सहमति हुन नसक्दा दिउँसो ४ बजेलाई सारियो। तर त्यसबेलासम्म पनि बैठक बस्ने अवस्था नदेखिएपछि सूचना टाँसेर बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगन गरिएको हो।
दलहरूबीच विगतका बजेटमा भएका सहमतिका विषय समेट्ने सहमति बनेपछि सोहीअनुसार बुधबारका लागि बैठक आह्वान गरिएको हो। बैठकका लागि प्रदेशसभाका समितिमा तयार भएका संशोधन विधेयकका प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
उक्त विधेयकका प्रतिवेदनबारे छलफल गरेर पारित गर्नुपर्नेछ।
११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस र २७ सिट रहेको नेकपा एमालेको गठबन्धन सरकार छ।
२१ सिट रहेको नेकपा माओवादी केन्द्र प्रमुृख प्रतिपक्षी दल छ भने १३ सिट (सभामुखसहित) को राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), ७ सिटको नेकपा एकीकृत समाजवादी पार्टी, ३ सिटको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) प्रतिपक्षी दलको भूमिकामा छन्।
Shares

प्रतिक्रिया