उदयपुरको बेलकाबाट प्रहरीले बेवारिसे अवस्थाको ८ सय ९१ किलो गाँजा बरामद गरेको छ।
बेलका नगरपालिका–६ स्थित खोला किनारमा बेवारिसे अवस्थामा भेटिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मूर्ति खोला किनारमा बोराभित्र प्लास्टिकमा लुकाई राखेको अवस्थामा गाँजा फेला पारेको हो।
३९ वटा पोकामा फेला परेको गाँजा जोखेर हेर्दा ८ सय ९१ किलो ४२३ ग्राम पाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ।
गाँजा ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका–१२ का रोहित झा र विवेक विकलाई प्रतिबन्धित लागू औषध ट्याब्लेट ६० चक्की सहित पक्राउ गरेको जनाएको छ।
Shares

प्रतिक्रिया