समाज


गृह मन्त्रालयले भन्यो- आकलनभन्दा बाहिर गयो राजावादी प्रदर्शन

गृह मन्त्रालयले भन्यो- आकलनभन्दा बाहिर गयो राजावादी प्रदर्शन

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १८:४६, काठमाडौँ

त्यसो त, समाजवादी मोर्चाको कार्यक्रम राखेकै दिन चैत १५ कै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रदर्शन घोषणा गरेपछि सम्भावित घटना हुन सक्ने आकलन भएको हो। 

तर, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा धवलशम्शेर राणा र स्वयं प्रसाईँले प्रदर्शन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाए। 

त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुने क्षेत्रको खाली स्थान उपलब्ध गरायो।

तर, राजावादी प्रदर्शन शान्तिपूर्ण भएन। 

शुक्रबार १५ गते बिहानैदेखि राजावादी प्रदर्शनकारी उग्र बन्दै गए। तीनकुने क्षेत्रका केही सर्वसाधारणको घरमा आगजनी गरे। दर्जन बढी घर तोडफोड गरे। कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाए। जडिबुटीको सन्चो बनाउने कारखानाका ४ वटा गाडी जलाए।

यस्तै, कोटेश्वरमा प्रहरीको गाडी जलाए। राजावादी प्रदर्शनकारीले राजनीतिक दलका कार्यालयसमेत तोडफोड गरेका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीको आलोकनगरमा रहेको कार्यालयका कागजपत्र नियन्त्रणमा लिएर आगो लगाउनुका साथै घरको सिसा फुटाइएको छ। 

प्रदर्शन हिंसात्मक बन्न थालेपछि परिस्थितिलाई बिग्रिन नदिन प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ। सेना पनि खटाइएको छ। 

आफ्नो कार्यालय तोडफोड भएपछि एकीकृत समाजवादीका नेता-कार्यकर्ता विरोधमा उत्रिने तयारीमा छन्। 

यस्तै नेकपा एमालेनिकट युवा संघले प्रतिकारको तयारी गरिरहेको छ। यसले अझै बढी मुठभेड र दंगाको जोखिम बढाएको छ।

कम्तीमा एकजनाको ज्यान गएको गृहले पुष्टि गरेको छ। अस्पताल, दमकल, प्रहरी बिट र सवारी साधन तोडफोड गरिएका छन्। यसले सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठाएको छ।

यो विषय शुक्रबार साँझ गृह मन्त्रालयको पत्रका सम्मेलनमा पनि उठ्यो। गृह कहाँ चुक्यो त?

पत्रकारको यस प्रश्नमा सुरक्षा प्रमुखहरूको बैठकपछि गरिएको पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले भने, ‘२० वर्षपछि उस्तै घटना भएको थियो। आज निश्चित मिसन भएकाले त्यो लेभलको घटना होला भन्ने अनुमान नभएकै हो। दमकलमाथि आगजनी भएको छ। आगलागी नियन्त्रण गर्न गएको सशस्त्रको गाडी जलाइयो। त्यसैले त्यहाँ समयमै आगलागी नियन्त्रणमा लिन सकिएन। अनुमान गरिएको भन्दा फरक र अराजक भएको हो, भिडचाहिँ।’

अब के गर्छ त सरकार? सुरक्षा व्यवस्था कसरी मिलाउँछ?

रिजालले भने, ‘सूचनालाई अध्ययन गरेर पूर्वराजाबारे निर्णय लिइन्छ। आजको घटनामा दुर्गा प्रसाईं नै जिम्मेवार हुनुहुन्छ। आजको क्षतिको जिम्मा पनि लिनुपर्छ।’

अहिलेको दंगामा संलग्न व्यक्ति जहिले पनि पक्राउ परी कारबाही हुन सक्ने उनले बताए।

‘अहिले मानिसहरू छुटिहाले केही हुँदैन भन्नेचाहिँ हुदैन,’ उनले भने, ‘१५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते हुनुभएको छ। कीर्तिपुर-४ का सविन महर्जनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ। सरकारले दोषीमाथि कानुनी कारबाही गरेरै छाड्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad