सेती प्रादेशिक अस्पताल धनगढीमा आइसोलेसन रहेका एक कोरोना संक्रमित युवाले आफ्नो नमूना रिपोर्ट आएपछि चिकित्सकहरुले वास्ता नगरेको गुनासो पोखेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुबईबाट आएका ती ३४ वर्षीय युवा चैत्र ११ गते अस्पताल भर्ना भएको र शुक्रबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको पुष्टि गरेको थियो।
शुक्रबार रिपोर्ट आएपछि आफूलाई छुट्टै राखिएको र कोही चिकित्सक पनि उपचारमा नआएको उनले गुनासो पोखे।
शनिबार धनगढीका स्थानीय सञ्चारमाध्यमसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘विश्वव्यापी रुपमा फैलिएको यो रोगबाट डाक्टरहरुलाई पनि डर लागेको हो कि। हिजो रिपोर्ट आएपछि अर्को ठाउँमा सारेको छ। त्यसपछि कसैले हेरेको छैन। औषधि पनि दिएको छैन। घरबाटै खानेकुरा मगाइरहेको छु। डाक्टरलाई मतलबै छैन। मलाई एकचोटी पनि सोध्न आएको छैनन्।’
संक्रमितसँग धनगढीका पत्रकार नवराज धानुकले गरेको कुराकानी:
उनले आफूँले रिपोर्टसमेत चिकित्सकबाट नभई मिडियाबाट थाहा पाएको बताए। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ।
देशभर नै चिकित्सकहरुलाई पीपीईलगायतका सुरक्षा सामग्रीको अभावका कारण आफूलाई पनि संक्रमित हुने हो कि भन्ने भयले सताएको छ। त्यही भयका कारण धनगढीका चिकित्सकहरु पनि विरामीसँग नजिक हुन नचाएको हुनसक्ने अस्पतालका एक कर्मचारी बताउँछन्। तर, अस्पतालका मेसु डाक्टर हेमराज पाण्डे भने सम्पर्कमा आएनन्।
संक्रमित पुरुष दुबई हुँदै दिल्ली, काठमाडौं, नेपालगञ्जसम्म जहाज र त्यहाँबाट बसको यात्रा हुँदै धनगढीमा पुगेका थिए।
उनी चैत्र ७ गते दुबईबाट बिहानै दिल्ली पुगेका थिए। दिल्लीमा ६ घण्टाको ट्रान्जिट रहेको र सोही दिन बेलुका ४ बजे काठमाडौं उत्रिएको संक्रमितले फोनमार्फत विभिन्न सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।
काठमाडौं उत्रिएलगत्तै उनलाई एयरपोर्टमा लिन उनका भाइ (मामाघरका) पुगेका थिए। त्यहाँबाट उनीहरु बिरामीको मामाघर धापासी गएका थिए।
अर्कोदिन चैत्र ८ गते ती बिरामी बसबाट धनगढी जाने उद्देश्यले गोगंवुस्थित नयाँ बसपार्क पुगे। तर, बसको टिकट नपाएपछि उनले जहाजमा जाने सोच बनाए। तर, धनगढीको जहाजको टिकट नपाएपछि उनले नेपालगञ्जको टिकट काटे।
बिहान भाइले एयरपोर्ट छोडिदिएको र आफू नेपालगञ्जसम्म आएको उनले बताएका छन्। नेपालगञ्ज विमानस्थलबाट अटोरिक्सा हुँदै उनी कोहलपुल पुगेका हुन्। कोहलपुलबाट हाइस लिएर अत्तरियासम्म आएको र अत्तरियाबाट पुनः विंगर लिएर धनगढी आएको उनले बताएका छन्।
यसअवधिमा आफू सचेत रहेको र मुखमा मास्क तथा सेनिटाइजरको प्रयोग गरेको उनले बताए। आफूसँगै आएका विराटनगरका साथीलाई पनि जानकारी गराइसकेको र उनी पनि अस्पतालको अस्पर्कमा रहेको उनले बताए।
यता धनगढीमा आएपछि ९ र १० गते परिवार, आफन्तबाहेक अरुसँग आफूले नभेटेको उनले बताएका छन्। ११ गते भने उनी अस्पताल पुगेका थिए।
बिरामीका परिवारलाई अहिले आइसोलेसनमा राखिएको छ।

प्रतिक्रिया