समाज


बसाइँसराइको तथ्यांक डरलाग्दो, पहाड छाड्नेको संख्या अत्यधिक

बसाइँसराइको तथ्यांक डरलाग्दो, पहाड छाड्नेको संख्या अत्यधिक

नेपालखबर
चैत १२, २०८१ मंगलबार १८:१७, काठमाडौँ

देशमा बसाइँसराइको क्रम नरोकिएको खण्डमा पुर्ख्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो। 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए। उनले सबैभन्दा बढी स्थायी आन्तरिक बसाइँसराइ गर्ने जनसंख्या पहाडमा रहेको बताए। 

उनकाअनुसार पहाडबाट १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिक अन्यत्र सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाइँ सरी अन्यत्र गएका छन्। हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेको उनले बताए। 

उनले बसाइँ सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाइँ सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाइँ सरी गएको जानकारी दिए। 

यद्यपि नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्याको अनुपात धेरै रहेको उनको भनाइ छ। उनले देशमा सक्रिय उमेर समूह अर्थात काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत रहेको  उल्लेख गरे। 

प्रतिवेदन सार्वजनिक गर्दै उनले १५ वर्षमुनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत रहेको बताए। 

उनले अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको जानकारी दिँदै यही अनुपातमा जनसंख्या वृद्धि भएको अवस्थामा तराईले थेग्न नसक्ने बताए। 

समग्र मुलुकको प्रजनन दरमा समेत कमी हुँदै जाने तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय जनगणना २०७८ का ५ वटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो। ग्रामीण क्षेत्रको कोरा जन्मदर १५.७ छ भने शहरी क्षेत्रको १३.६ रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad