समाज


सरकारले गरायो ४६ पत्रकारको दुर्घटना बिमा

सरकारले गरायो ४६ पत्रकारको दुर्घटना बिमा

नेपालखबर
चैत १०, २०८१ आइतबार १३:१०, काठमाडौँ

सरकारले ४६ जना पत्रकारको नि:शुल्क दुर्घटना बिमा गराइदिएको छ।

पत्रकारहरूको दुर्घटना बिमा गराउने सरकारको कार्यक्रमअनुसार सुचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गराइएको हो।

आइतबार विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा पत्रकार दुर्घटना बिमा छानबिन तथा मूल्यांकन समितिको बैठक बसेर बिमाका लागि आवेदन दिएका ४६ जना पत्रकारको दुर्घटना बिमा गराउने निर्णय भएको विभागले जानकारी दिएको छ।

निर्देशक उपाध्यायका अनुसार विभागले दुईपटक आवेदन माग गर्दा ४७ जनाले आवेदन दिएको र रीत पुगेका ४६ जनाको दुर्घटना बिमा गरिएको जानकारी दिइन्। उपाध्यायका अनुसार यो बिमा एक बर्षका लागि लागू हुनेछ।

विभागले कात्तिक तेस्रो साता पहिलो र माघ अन्तिममा दोस्रोपटक सूचना प्रकाशन गरेर पत्रकारहरूलाई आवेदन दिन आह्वान गरेको थियो। पहिलोपटक ३७ जनाले मात्रै आवेदन दिएपछि  दोस्रोपटक पुन: माग गर्दा ९ जनाले आवेदन दिएका थिए।

पत्रकारहरूको दुर्घटना बिमा गराउने सरकारी कार्यक्रमअनुसार विभागले बर्सेनि सूचना प्रकाशन गरेर आवेदन संकलन गरी बिमा गराइरहे पनि पत्रकारहरूको सहभागिता कम हुँदै गएका नेपाल पत्रकार महासंघले चिन्ता व्यक्त गरेको छ।

महासंघको आग्रहमा पत्रकारहरूका लागि सरकारले लागू गरेको कार्यक्रम प्रभावकारी बन्न नसकेकामा उसको चिन्ता छ।

‘केही वर्षअघि यही कार्यक्रमभित्र एक हजार पत्रकारको बिमा गरिएको थियो’, महासंघका सचिव रमेश खतिवडाले भने, ‘अहिले त्यो संख्या ४६ मा झर्नु दु:खद् हो।’

प्रदेशहरूमा प्रदेश सरकार र जिल्लाहरूमा स्थानीय तहले समेत पत्रकारहरूका लागि बिमा कार्यक्रम लागू गरेका कारण सहभागिता कम भएको खतिवडाले बताए।

बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सूचना विभाग र सञ्चार मन्त्रालयसँग छिट्टै छलफल गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad