जब तपाईंले अत्यन्तै माया र आदर गर्ने व्यक्तिको मृत्यु हुन्छ, त्यस्ता मानिसलाई तपाईं अन्तिमपटक सम्मानका साथ विदाई गर्न चाहनुहुन्छ।
तर कोरोना भाइरस ‘कोभिड–१९’ को महामारीका कारण इटलीका नागरिकले आफ्ना प्रियजनको अन्तिम विदाई गर्ने अधिकार गुमाएका छन्।
मिलानस्थित अन्तिमसंस्कार गृहमा काम गर्ने व्यक्ति एन्ड्रिया सेराटो भन्छन्,‘महामारीले तपाईंलाई एकपटक होइन दुईपटक मार्छ।’
‘संक्रमणपछि पहिले यो रोगले आफ्ना सबै प्रियजनलाई अलग गर्छ। त्यसपछि यसले कसैलाई नजिक आउन दिँदैन,’ सेराटो भन्छन्, ‘परिवारको लागि यो निकै मुश्किल घडी हो। उनीहरुको लागि यो स्वीकार गर्न निकै कठिन हुन्छ।’
मृत्युको क्षणमा एक्लै
इटलीमा कोरोना भाइरसको संक्रमणले मर्ने व्यक्तिको अन्तिम समयमा परिवारका कोही सदस्य र साथी उनीहरुसँग हुँदैनन्।
संक्रमित व्यक्तिबाट दोस्रो व्यक्तिमा कोरोना फैलने त्रासपछि अस्पतालमा परिवार तथा साथीभाईलाई आउजाउ गर्न प्रतिबन्ध लगाइएको छ।
क्रोमोनास्थित शवलाई अन्तिम संस्कारको लागि तयार गर्ने व्यक्ति मसिमो मनकैस्ट्रोपा भन्छन्,‘कयौं परिवार हामीलाई अन्तिमपटक प्रियजन हेर्ना पाइँदैन भनेर सोध्छन्। तर उनीहरुलाई यसको अनुमति छैन किनभने त्यो गर्न प्रतिबन्ध गरिएको छ।’

इटलीमा मृत्यु भएका मानिसलाई उनीहरुका मनपर्ने कपडा अन्तिमपटक लगाइदिने प्रचलन छ। शवलाई सजाएर अन्तिम संस्कार गरिन्छ।
तर इटलीमा यतिबेला कोरोनाले मर्ने व्यक्तिको अन्तिम संस्कार उनीहरुको मनपर्ने लुगामा गरिँदैन। उनीहरुलाई अस्पतालकै गाउनमा चुपचाप पुरिन्छ।
मसिमो भन्छन्,‘हामी शवमाथि परिवारले दिएको कपडा हालिदिन्छौं। जसले गर्दा परिवारलाई लागोस् कि मर्ने व्यक्तिले अन्तिम संस्कारका बेला मनपर्ने कपडा लगाएको छ।’
८० हजार बिरामी, ८ हजारको मृत्यु
इटलीमा हालसम्म कोरोना भाइरसका कारण ८० हजार ५८९ जनाको मृत्यु भएको छ। शुक्रबारसम्मको तथ्यांकअनुसार इटलीमा ८ हजार २१५ को मृत्यु भइसकेको छ।
कोरोनाको उद्गमस्थल चीनमा भन्दा बढी मानिस इटलीमा कोरोनाका कारण मरेका हुन्। चीनमा ८१ ह्जार ३४० संक्रमित छन् भने त्यहाँ ३२ सय ९२ को मृत्यु भएको छ।
हाल अमेरिका कोरोनाले सबैभन्दा बढी ग्रस्त क्षेत्र हो। त्यहाँ ८५ हजार ६१२ कोरोनाले बिरामी परेका छन्। १३ सय १ अमेरिकीले कोरोनाका कारण ज्यान गुमाएका छन्। बीबीसी

प्रतिक्रिया