गृहमन्त्री रमेश लेखकले गत असोजमा बागमती, कोसी प्रदेशलगायत ठाउँमा बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आकलन तत्काल अघि बढाउने बताएका छन्।
बिहीबार सिंहदबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३०औँ बैठकपछि सञ्चारकर्मीहरूसित प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले गत असोजमा बाढी, पहिरो र डुबानबाट भएको क्षति आकलन आगामी साताभित्रै सुरु गरिने जानकारी दिए।
“गत असोज महिनामा बागमती, कोसीलगायत ठाउँमा अविरल वर्षाका कारण आएको बाढी, पहिरो डुबानले जुन क्षति भएको थियो, अब तत्काल त्यसको विस्तृत क्षति आकलन अघि बढाउने विषयमा छलफल भएको छ”, गृहमन्त्री लेखकले भने, “निजी आवासहरू अस्थायी बनाउने ठाउँमा अस्थायी र स्थायी बनाउने ठाउँमा स्थायी आवास बनाउने गरी अघि बढ्छौँ।”
उनले बैठकमा आगामी दिनमा विपद्बाट हुने सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयार रहँदै आगामी दिनमा तयारीका साथ अघि बढ्ने विषयमा छलफल भएको छ बताए।
“यसअघिको बैठकले पश्चिम नेपालको भूकम्प (डोटी, अछाम र जाजरकोट) विस्तृत क्षति आकलन नभएको ठाउँमा क्षति आकलन गर्ने, क्षति आकलन भएको ठाउँमा निजी स्थायी आवास निर्माणको कार्य अघि बढाउने निर्णय गरेको थियो”, लेखकले भने, “पश्चिम नेपालको भूकम्पबारे काम गर्न तीनवटा कार्यालय पनि म आफैँ गएर स्थापना गरेका छु, आजको बैठकमा त्यसबारे जानकारी लिने काम भयो। पश्चिम नेपाल भूकम्पबाट उत्पन्न पीडा क्षति आकलन गर्न बाँकी रहेको ठाउँमा विस्तृत क्षति आकलन कार्य पनि द्रूत गतिमा अघि बढेको छ।”
मन्त्री लेखकले क्षति आकलन भएको ठाउँमा स्थायी आवास निर्माण कार्य पनि अघि बढेको जानकारी दिए।
“जाजरकोटमा पनि पुनर्निर्माण र पुनर्स्थापनको काम अघि बढेको छ। यहाँबाट अनुदान पठाउने काम प्रारम्भ भएको छ”, उनले भने, “डेढ दुई वर्षदेखि रोकिएको काम अहिले अगाडि बढ्यो। त्यसका बारेमा पनि समीक्षा भयो।”
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, गृहसचिव गोकर्णमणि दुवाडीलगायत उच्च पदस्थ अधिकारी सहभागी थिए।
Shares

प्रतिक्रिया