काठमाडौँमा २५ करोड रुपैयाँ बढी रकमसहितको ट्रक चलाउँदै गर्दा पक्राउ परेका व्यक्ति यसअघि पनि सुन तस्करी मुछिएका व्यक्ति भएको खुलेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ना७ख १६५२ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१, का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई आज मंगलबार काठमाडौँको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो।
प्रहरीले आजै नियन्त्रणमा लिएको ट्रक, बरामद रकम र लामालाई सार्वजनिक गरिसकेको छ।
'बिहान कुनै गाडीमा अवैध मुद्रा रसुवातर्फ लगिँदैछ भन्ने सूचना आयो,' पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृतले भने, 'हामीले त्यहाँ धेरै गाडीहरू सर्च गर्यौँ। यो ट्रकलाई पनि रोक्यौँ। सुरुमा चालक अलि डराएको जस्तो देखियो। त्यसपछि हामीले थप सजक भएर उनीसँग कुरा गर्यौँ। कुराकानीकै क्रममा उनले ट्रकमा के छ भन्नेबारे खुलाउन नचाहेपछि हामीले नियन्त्रणमा लिएर छानबिन सुरु गर्दा पैसा भएको पाइयो।'
ट्रकबाट अमेरिकी डलर र युरो रकम बरामद गरिएको प्रहरीको भनाइ छ। आजको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ बरामद भएको हो।
लामा यसअघि पनि सुन तस्करीमा पक्राउ परेर पाँच वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको प्रहीको भनाइ छ। उनी ७ किलो सुनसहित पक्राउ परेको र सजाय भुक्तान गरेर २०७८ सालमा निस्किएका हुन्।
उनलाई विदेशी विनियमय ऐन कसुरमा कारबाहीका लागि पठाइँदैछ।
Shares

प्रतिक्रिया