समाज


नेपाली मूलका सबै पुस्तालाई समेट्ने कानुन बनाउन एनआरएनए सम्मेलनको माग

नेपाली मूलका सबै पुस्तालाई समेट्ने कानुन बनाउन एनआरएनए सम्मेलनको माग

नेपालखबर
चैत ४, २०८१ सोमबार १२:१८, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनले विदेशमा रहेका नेपाली मूलका सबै पुस्तालाई समेटेर कानुन अद्यावधिक गर्न नेपाल सरकारसँग माग गरेको छ।

थाइल्यान्डको राजधानी बैंककमा ‘इम्पावरिङ द युथ, सेपिङ द पीएनओज् फ्युचर’ भन्ने मूल नाराका साथ मार्च १६ (चैत ३) मा सम्पन्न २ दिने सम्मेलनले यस्तो माग गरेको हो।

सम्मेलनपछि सार्वजनिक ७ बुँदे निष्कर्ष सार्वजनिक गर्दै संघले भनेको छ, ‘विदेशमा बस्ने नेपाली विभिन्न किसिमका छन्। अहिलेको संविधान र ऐनले तीन पुस्तालाई मात्र कल्पना गरेको देखिन्छ। तर त्योभन्दा बढी पुस्ता विदेशमा रहेका नेपालीलाई पनि सम्बोधन गर्न अनिवार्य भएको छ, जो नेपाली मूलका विदेशी नागरिक हुन्। त्यसैले पिपुल्स अफ नेपाली ओरिजिन (पीएनओ) को मुद्दालाई सम्बोधन गर्ने गरी व्यवस्था गरिदिन सरकार समक्ष अनुरोध गर्दछौँ।’

साथै, गैरआवासीय नेपाली नागरिकता तथा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाइ हुने थाइल्यान्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरूमा पुस्तौँदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रूपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने व्यवस्था गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ।

प्रधानमन्त्री के पी शर्मा ओलीको भर्चुअल सम्बोधन तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा सांसद पदम गिरी, थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओली, विभिन्न देशमा बसोबास गर्ने गैरआवासीय नेपाली युवा, विषयगत विज्ञ, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, निजी क्षेत्रका तथा व्यावसायिक संघ–संस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी तथा ३५ भन्दा बढी देशबाट भौतिक एवं भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति थियो।

संघले सम्मेलनका विभिन्न सत्रमा भएका छलफलपछि ७ बुँदे निष्कर्ष सार्वजनिक गरेको छ।

सम्मेलनका ७ निष्कर्ष यसप्रकार छन्-

  • विदेशमा बस्ने नेपाली विभिन्न किसिमका छन्। अहिलेको संविधान र ऐनले तीन पुस्तालाई मात्र कल्पना गरेको देखिन्छ। तर त्योभन्दा बढी पुस्ता विदेशमा रहेका नेपालीलाई पनि सम्बोधन गर्न अनिवार्य भएको छ, जो नेपाली मूलका विदेशी नागरिक हुन्। त्यसैले पिपुल्स अफ नेपाली ओरिजिन (पीएनओ) को मुद्दालाई सम्बोधन गर्ने गरी व्यवस्था गरिदिन साथै गैरआवासीय नेपाली नागरिकता तथा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाइ हुने थाईल्यान्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधनको लागि सरकार समक्ष पहल अनुरोध अनुरोध गर्दछौं।
  • विदेशमा रहेको युवा तथा दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्न विभिन्न योजना बनाई विदेशमा रहेका नेपालीका सन्तानलाई नेपालसँग भावनात्मक, सांस्कृतिक तथा आर्थिक रूपमा जोड्ने कार्यक्रमहरू अघि बढाइनेछ र बौद्धिक सम्पत्तिलाई प्रबर्धन गर्दै नेपाली युवालाई नेपालमै रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न पहल गरिनेछ। विदेशमा रहेका युवा पिँढी र दोस्रो पुस्तालाई देशसँग जोड्न आवश्यक नीति नियम बनाउन सरकारसँग अनुरोध गरिन्छ।
  • मातृभूमि नेपाल र गैरआवासीय नेपाली संघसँग विदेशमा रहेका पीएनओ तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई जोड्न सहयोग गर्ने जिम्मेवारीसहित दमकडा नमुना मावि, पाल्पाकी ओजस्वी आचार्य तथा थाइल्यान्ड निवासी पीएनओ खुसी कार्कीलाई एनआरएनए ब्रान्ड एम्बासडरका रूपमा घोषणा गर्ने यो सम्मेलन सर्वसम्मत निर्णय गर्दछ। गैरआवासीय नेपाली संघको विधानको धारा १७.२ मा व्यवस्था भएनुसार दोस्रो पुस्ता गैरआवासीय नेपाली संयोजकमा थाइल्यान्ड निवासी बारामी राईलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गर्दछ।
  • एनआरएनएको प्रस्तावमा प्रत्येक वर्ष दुई जना नेपाली विद्यार्थीलाई एसियन इन्टरनेसनल युनिभर्सिटी उज्वेकिस्तानमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनको अवसर उपलब्ध गराइने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ। ती दुई जना विद्यार्थीको छनोटमा पारदर्शिता अपनाउने घोषणा गर्दछौँ र भविष्यमा पनि यस्ता अवसरहरूको खोजी गर्नेमा प्रतिबद्धतासमेत जनाउँदछौँ।
  • गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको तर हाल यसको प्रयोगमा विभिन्न कानुनी जटिलता रहेको हुनाले यससम्बन्धी कानुन निर्माणमा सहजीकरण गरिदिनुहुन सरकारको ध्यानाकर्षण गराउँछौं। गैरआवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार नेपालीसरह नै प्रयोग गर्न दिने क्रममा अचल सम्पत्ति (पैत्रिक सम्पत्ति समेत) प्राप्त र खरिद गर्न, साविक वंशजको नेपाली नागरिकता त्याग गर्नुपूर्वको नेपाली नागरिकता प्रमाणपत्र नम्बर सहितको जग्गाधनी दर्ता प्रमाणपत्रमा गैरआवासीय नागरिकता नम्बर कायम गर्न लगायतका विषयमा सहज गरिदिनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्पूर्ण मालपोत कार्यालयलाई परिपत्र गरिदिन र पैत्रिक सम्पत्ति आफ्नो नाममा ल्याउनको लागि सहजीकरण गरिदिन हुन सविनय अनुरोध गर्दछौं।
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न प्रतिबद्ध छ। यसलाई साकार बनाउन विभिन्न एसियन राष्ट्रसँग सशक्त साझेदारी, प्रभावकारी नीति सहयोग र डिजिटल प्रवर्द्धनलाई प्राथमिकता दिँदै नेपालमा रहेका पूर्वाधार, सुरक्षा, हवाई सेवा र अन्य चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्न आह्वान गर्दछौँ।
  • बृहत् एकताका लागि हदैसम्मको  लचकता अपनाउने साथै संघको व्यापक हितका लागि सम्मानित सर्वोच्च अदालतको  फैसलालाई सम्मान गर्दै आगामी अक्टोबर ११ देखि १४ मा १२ औँ महाधिवेशन एवं विश्व सम्मेलन आयोजनाका लागि एकबद्ध भई काम गर्न आह्वान गर्दछौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad