सगरमाथा संवादमा विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरू सहभागी हुने सरकारले जनाएको छ। आइतबार आयोजिन पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रालय सचिव अमृत राईले संवादमा सहभागिताका लागि ४५० जनालाई निम्तो पठाइने बताएका हुन्।
'सरकार प्रमुख र राष्ट्रप्रमुखहरू सहभागी हुन्छन्,' उनले भने, 'तर कोको सहभागी हुन्छन् भन्ने प्रष्ट भइसकेको छैन। ४५० जनालाई निम्तो दिए पनि १५०-१७५ जनासम्म सहभागी हुने अपेक्षा गरेका छौँ।'
सगरमाथा संवाद जेठ २-४ गते काठमाडौँमा हुँदैछ।
राईले निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदूतावासलाई प्रयोग गरिएको जानकारी दिए। निम्तो राजदूतावासमार्फत निम्तो जाने उनको भनाइ छ।
तीन दिन चल्ने संवाद कार्यक्रममा हिमाल संरक्षण र अहिले भइरहेका जोखिमलगायतबारे छलफल हुनेछ।
कुन दिन के छलफल?
पहिलो दिन
सोही दिन टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ। पहिलो दिन नै खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवर्द्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिने बताइएको छ।
दोस्रो दिन
जलवायुजन्य प्रकोप: जोखिम न्यूनीकरण र पुनरोत्थानबारे छलफल हुनेछ। यो दिन हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धिबारे पनि छलफल हुने बताइएको छ। त्यस्तै हिमालमा भएका क्षतिलाई न्यूनीकरण गर्दा भएका प्रयासबारे पनि छलफल हुनेछ।
तेस्रो दिन
यो दिन संवादको समापन दिन हो। समापनको दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाइफ्लाइटमार्फत सगरमाथा क्षेत्र अवलोकनका लागि लगिनेछ।
Shares

प्रतिक्रिया