भक्तपुरको सूर्यविनायक नगरपालिका–७, सुवर्णश्वरको ओरालोमा स्कर्पियो दुर्घटना भएको छ।
बिहीबार सुवर्णश्वबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो। विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई देखेर एक्कासि ब्रेक लगाउँदा स्कर्पिओ सडकमै पल्टिएको थियो।
दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेले नेपालखबरलाई बताए।
घाइतेमध्ये एक जनाको कानबाट रगत बगेको छ। अन्यको अवस्था सामान्य नै रहेको र उनीहरू स्कर्पिओ पल्टिएपछि आफै बाहिर निस्किएको प्रहरीको भनाइ छ।
गाडी पल्टिँदै आएपछि मोटरसाइकल पनि छेउतिर पल्टिएको थियो। तर मोटरसाइकल चालक भने लगत्तै घाइतेहरूको उद्धारमा खटिएको सीसीटीभी फुटेजमा देखिन्छ।
घाइते सबैको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको पनि डीएसपी न्यौपानेले बताए।
घाइतेहरू भक्तपुरको कटुन्जेका छन्। २९ वर्षीय सविन अछामी, २८ वर्षीय कमल अछामी, सुबोध अछामी, आशिष अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोख्रेल, ३५ वर्षीय विवेक बस्नेत र २७ वर्षीया रुपा पन्त घाइते छन्।
Shares

प्रतिक्रिया