मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानको संशोधनलगायतको माग राखी नेपाल पत्रकार महासंघले घोषणा गरेको तेश्रो चरणको आन्दोलनको क्रममा महासंघले आज बृहत ‘प्रेस स्वतन्त्रतासभा’ आयोजना गरेको छ।
नागरिक अभियन्ता कृष्ण पहाडीले सरकारलाई माफियाले गाँजेका कारण सरकारले माफिया माथिको समाचार सञ्चारमाध्यममा नआओस् भनेर मिडिया विरोधी विधेयक ल्याएको बताए। उनले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानवअधिकार रहेको भन्दै सञ्चारमाध्यमको दुरुपयोग हुनसक्ने तर्फ भने सबैजना सचेत हुनुपर्ने बताए।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले प्रेस स्वतन्त्रता विरोधी विधेयकको विरोधमा आन्दोलन गरेको दुई महिना पुग्दा समेत सम्बन्धित निकायले महासंघको चासो तथा आन्दोलनको बारेमा सम्बोधन नगरेको बताए। उनले महासंघले रहरले नभइ जनताको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आन्दोलन गरेको धारणा राखे।
प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले सरकारले प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याएर सरकारको नियत स्पष्ट भएको बताए। सरकारले सोकारवालासँग छलफल नै नगरी विधेयक ल्याएको कारण सरकार नै विवादित भएको बताए। उनले प्रेससँग सरोकार राख्ने सबै विषयबस्तुहरुमा महासंघको प्रत्यक्ष सहभागितामा गराउनुपर्ने धारणा राखे।
महासंघका पूर्व अध्यक्ष शिव गाँउलेले जनताबाट चुनिएको भनिएको नेतृत्व स्वयं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको कुरामा मुलत पत्रकारहरुमाथि तथा आमसञ्चारमाध्यममाथि चर्को सजाय गर्ने नियतबाट आइरहेको बताए। उनले आमसञ्चार तथा पत्रकारितमा माथि चर्को दण्ड सजाय थोपरेर सरकार जनताको विचार तथा अभिव्यक्ति स्वतन्त्रता माथि नियन्त्रण गर्न खोजेको बुझिएको बताए।
कार्यक्रममा बोल्दै महासंघका महासचिव रमेश विष्टले नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र स्वतन्त्र ढंगले पत्रकारिताको वातावरणलाई समाप्त पार्ने किसिमबाट सरकारले मिडिया सम्बन्धी विधेयक ल्याएका कारण महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको बताए। उनले सरकारले ति विधेयक प्रेस स्वतन्त्रता मैत्री नबनाए महासंघ चौथो चरणको आन्दोलनमा जान बाध्य हुने बताए।

प्रतिक्रिया