समाज


राजावादीले प्रदर्शनको तयारी गरेपछि काठमाडौँमा उच्च सुरक्षा सतर्कता

राजावादीले प्रदर्शनको तयारी गरेपछि काठमाडौँमा उच्च सुरक्षा सतर्कता

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०८१ आइतबार ९:२, काठमाडौँ

राजावादीहरुले प्रदर्शनको तयारी गरेपछि काठमाडौँका विभिन्न चोकमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो पोखराबाट काठमाडौँ फर्किंदै छन्। एकसाता लामो पोखरा बसाइपछि दिउँसो करिब साढे ३ बजे काठमाडौँ फर्किन लागेका पूर्वराजाको स्वागतमा राजावादी दल र समूहहरुले आज दिउँसो काठमाडौँमा प्रदर्शनको तयारी गरेका छन्। 

एयरपोर्ट गेटदेखि निर्मल निवाससम्म पूर्व राजाको स्वागतमा प्रदर्शन गर्ने तयारी राप्रपासहितका दल र समूहहरुले गरेका हुन्। उनीहरुको प्रदर्शनलाई उच्छृंखल हुन नदिन काठमाडौँका मुख्य चोकमा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएर उच्च सतर्कता अपनाइएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।

‘राजावादी समूहको प्रदर्शनले शान्ति सुरक्षामा कुनै असर नपुगोस् भनेर हामीले सुरक्षा व्यवस्थालाई कडा बनाएका छौँ,’ एसपी बोहोराले नेपालखबरसँग भने, ‘नेपाल प्रहरीका एक हजारभन्दा धेरै सुरक्षाकर्मी सडकमा परिचालन हुनेछन्। त्यहीअनुसार सशस्त्र प्रहरी पनि परिचालित हुनेछन्।’

आज दिउँसो राजावादी समूहले काठमाडौँका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि गौशाला चोकसम्म भेला भएर पूर्व राजाको स्वागत गर्ने तयारी गरेका छन्। 

राजावादी समूहहरुले प्रदर्शनको तयारी गरेपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठकसमेत बसेको थियो। 

सुरक्षा समितिकोनिर्णय अनुसार आज बिहानैबाट काठमाडौँका सम्वेदनशील क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad