नेपाल शिक्षक महासङ्घले काठमाडौँमा प्रदर्शन गरेको छ। शनिबा पहिलो चरणको आन्दोलनअन्तर्गतको अन्तिम प्रदर्शन माइतीघरदेखि बिजुलीबजारसम्म भएको हो।
आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई विभिन्न समूहमा विभाजन गरेको छ। समूह ‘क’ अन्तर्गत रहेका जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन भनिएको छ। '
तीन जिल्लाबाट सात हजार ५०० शिक्षक आन्दोलनमा सहभागी हुने महासङ्घले लक्ष्य राखेको थियो। त्यस्तै समूह ‘ख’ अन्तर्गतका तीन जिल्लाबाट तीन हजार, समूह ‘ग’ अन्तर्गतका २९ जिल्लाबाट १७ हजार ४००, समूह ‘घ’ अन्तर्गतका १३ जिल्लाबाट तीन हजार ९००, समूह ‘ङ’ अन्तर्गतका १९ जिल्लाबाट तीन हजार ८७०० र समूह ‘च’ अन्तर्गतका जिल्लाहरूबाट ५०० शिक्षकहरूलाई काठमाडौँ पठाउन भनेको थियो।
आन्दोलन परिचालनका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ शुल्क उठाउन र सोमध्ये ५० रुपैयाँ राष्ट्रिय समितिलाई उपलब्ध गराउन महासङ्घले निर्देशन दिएको छ। नेपाल शिक्षक महासङ्घसँग विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी अग्रगामी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासङ्घले माघ २० गतेदेखि आन्दोलन गर्दै आएको छ।
फागुन १७ गतेसम्म पहिलो चरणको आन्दोलनअन्तर्गत स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्र गरेर आन्दोलनका विभिन्न कार्यक्रम गरेको थियो।
अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्वका लागि नयाँ ऐनमा कार्यरतहरूलाई विशेष प्राथमिकतासहित आन्तरिक परीक्षाको प्रबन्ध हुनुपर्ने, विद्यालय कर्मचारीको विषय हरेक विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्थायित्वको प्रक्रियामा लैजानुपर्ने, बालकक्षा शिक्षकको सवालमा विद्यालय शिक्षाको आधार रहेको प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्न नहुने,अस्थायी अवधि गणना तथा निवृत्तिभरणबारे विश्व विद्यालयमा पेन्सन प्रयोजनका लागि सबै अस्थायी अवधि गणना हुने व्यवस्था छ। त्यसैले विद्यालय शिक्षामा पनि यो प्रबन्ध लागू गरिनुपर्नेलगायत बढुवा, ग्रेड तथा तलब मिलानलगायतको माग राखि शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। यसअघि पनि शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए।
तर, सरकारले माग सम्बोधन गर्ने सहमति गरेपछि उनीहरूको आन्दोलन रोकिएको थियो। माग पुरा नभएको भन्दै शिक्षकहरू अहिले फेरि काठमाडौँको सडकमा ओर्लिएका छन्।









Shares

प्रतिक्रिया