अवैध रूपमा अमेरिका गएका १० जना नेपाली आज चार्टर विमानमार्फत् काठमाडौँ आउँदैछन्। अध्यागमन विभागका अनुसार उनीहरू बुधबार बिहान करिब १० बजे काठमाडौँ आइपुग्ने तालिका छ।
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीहरुलाई अमेरिकी प्रशासनले देश निकाला गरिरहेको छ। ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपाली अमेरिकाबाट निकालिएका छन्।
आज दश जना नेपालीलाई लिएर अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम काठमाडौँ आउन लागेको हो।
उक्त विमानमा अल्बानियाका केही नागरिक पनि आउँदैछन्। उनीहरुलाई तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेपछि उक्त विमान नेपाल आउने तालिका रहेको अध्यागमन कार्यालयले जनाएको छ।
जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली अमेरिकाबाट निकाला भएका थिए। यस अवधिमा तीन नेपालीलाई पानामा ‘डिपोर्ट’ गरिएको अमेरिकी प्रशासनले जनाएको छ
यसअघिका राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली बिनाभिसा अमेरिका प्रवेश गरेकाे अनुमान छ। तीमध्ये २ हजार ८ जना अहिले अमेरिकी प्रशासनकाे हिरासतमा छन्।
पहिलो चरणमा अवैध रुपमा अमेरिकामा बस्दै आएका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीलाई देश निकाला गर्ने तयारी अमेरिकी प्रशासनले गरेको छ।
Shares

प्रतिक्रिया