सरकारले पुरै देशभर साताव्यापी लकडाउन घोषणा गरेपछि सुदूर पश्चिम प्रदेशबाट मात्र करिब १ लाख ४० हजार मानिस नेपाल प्रवेश गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सुदूर पश्चिम प्रवेश गरेका उनीहरु सो प्रदेशका ९ जिल्लादेखि चितवनसम्मका वासिन्दा हुन्।
‘लकडाउनपछि सुदूर पश्चिम प्रदेशमा गौरीफण्टा (धनगढी, गड्डाचौकी महेन्द्रनगर, दार्चुला र झुलाघाट–बैतडीलगायतका प्रमुख चल्तीका नाका भएर करिब १ लाख ४० हजार नेपालीहरू स्वदेश फर्किएको विवरण प्राप्त भएको छ,’ थापाले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्। ‘सुदूर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका ९ जिल्ला र चितवनसम्म पुग्न आएका व्यक्तिहरूलाई पठाइएको छ।’
थापाले अब स्थानीय सरकारहरूले आआफ्नो पालिकामा आइपुगेका सबैलाई एकान्तबासमा राख्ने, घुलमिल नगराउने तथा तोकिएको अवधिसम्म हेरेर संक्रमणबाट सुरक्षित हुन सक्रिय रहने भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
‘सबै स्वास्थ्यचौकी, स्वस्थ्यकर्मी र स्वास्थ्य कार्यकर्ता एवं राजनीतिक कार्यकर्ताहरू समेत अपडेट भएर जनताको जीवनरक्षाको यस अभियानमा सावधानी, सचेतनता र सक्रियताका साथ जुट्नु जरूरी देखिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया