समाज


सकियो हिउँद, सुरु भयो प्रि-मनसुन

अबदेखि वर्षासँगै बढ्नेछ चट्याङ र हावाहुरी
सकियो हिउँद, सुरु भयो प्रि-मनसुन

नेपालखबर
फागुन १७, २०८१ शनिबार ७:४६, काठमाडौँ


आज (मार्च १) देखि नेपालमा प्रि-मनसुन सुरु भएको छ। मौसमविद्का अनुसार फेब्रुअरी महिनासँगै हिउँद याम (विन्टर) पनि बिदा भएकाले आज (फागुन १७) देखि प्रि-मनसुन लागेको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ मिहनालाई हिउँद मानिन्छ भने मार्चदेखि प्रि-मनसुन लाग्छ। 

‘अब मार्च, अप्रिल र मे गरी ३ महिनालाई प्रि-मनसुनको अवधि मानिन्छ’, शनिबार बिहान मौसमी गणनाबारे जानकारी दिँदै उनले नेपालखबरसँग भने, ‘तर मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै मान्नुपर्ने हुन्छ।’

तर नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख भएकाले त्यसअघिसम्मको अवधिलाई प्रि-मनसुन नै मान्नुपर्ने मौसमविद् लामिछानेको भनाइ छ। त्यसो त मनसुन भित्रिने औसत मिति जुन १३ तारिख भए पनि २/४ दिन अघिपछि पनि हुनसक्छ। 

अबदेखि वर्षासँगै चट्याङ पर्ने र हावाहुरी आउने क्रम बढ्ने उनले बताए। 

‘प्रि-मनसुनमा झरी टाइपको लामो वर्षाचाहिँ हुँदैन, छोटो समयमा चट्याङ र हावाहुरीसँगै धेरै वर्षा हुने हुन्छ’, मौसमविद् लामिछानेले भने।

उनका अनुसार मनसुन भित्रिएपछि जुन, जुलाई, अगस्ट र सेप्टेम्बर ४ महिनालाई मनसुन अर्थात् वर्षायाम मानिन्छ। यसपछि अक्टोबर र नोभेम्बर २ महिनालाई पोस्ट मनसुन सिजन मानिन्छ भने डिसेम्बरमा फेरि हिउँद याम अर्थात् विन्टर सिजन सुरु हुन्छ। यो सिजन फेब्रुअरी महिनाभर रहन्छ। 

‘यस अर्थमा हिजो रातिसम्मको वर्षालाई हिउँदे वर्षा मानिन्छ मौसमविद् लामिछानेले भने, ‘अब आज (मार्च १) देखि हुने वर्षालाई भने हिउँदे वर्षा मानिन्न, किनभने प्रि-मनसुन सिजन लागिसक्यो।’

हिउँदभर खासै वर्षा हुन नसके पनि अन्तिम अवधितिर भने देशका धेरै स्थानमा पानी परेको छ। गएराति पनि देशका धेरै स्थानमा वर्षा तथा हिमपात भएको मौसम महाशाखाले जनाएको छ। राजधानी काठमाडौँमा पनि हल्का किसिमको वर्षा भएको मौसमविद् लामिछानेले बताए। 

अहिले पनि देशका कतिपय स्थानमा वर्षा भइरहेको छ। 

थप विवरणपश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: यी ४ प्रदेशमा वर्षा हुँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad