समाज


राखेप सदस्यसचिवको कार्यकक्ष तोडफोड आरोपमा कांग्रेस कार्यकर्ता पक्राउ

राखेप सदस्यसचिवको कार्यकक्ष तोडफोड आरोपमा कांग्रेस कार्यकर्ता पक्राउ

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार २१:५५, काठमाडौँ

नेपाल विद्यार्थी संघका नेता विक्रम भन्ने दधिराम सिटौला पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिटौलालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर स्रोतका अनुसार सिटौलालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीमा पठाइएको छ। झापाको चन्द्रगढी घर भएका दधिराम राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाका भाइ पर्छन्। उनलाई मैतीदेवीबाट प्रहरीले पक्राउ गरेको हो।

गत माघ अन्तिम साता राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड गर्न संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उच्च अदालत पाटनद्वारा २०८० भदौ १३ गते अवैधानिक ठहर गरेको नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको टोलीले राखेपका सदस्यसचिवको कार्यकक्षमा तोडफोड गरेका प्रहरीमा जाहेरी परेको छ।

उनीहरूविरुद्ध कालीमाटी प्रहरी बृत्तमा उजुरी दर्ता भएकाले अनुसन्धानका लाागि त्यहीँ पठाइएको हो।

नेपाली खेलकुद जगत विभिन्न खेलाडी, प्रशिक्षक, कर्मचारीका साथै संघसंस्थाले निन्दा गर्दै कारबाही माग गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद्मा माघ २५ गते शुक्रबार अपराह्न सदस्य सचिव घिसिङको कार्यकक्षभित्र नेपाल उसु महासंघका पूर्वपदाधिकारीहरू लगायतले ज्ञापनपत्र बुझाउने क्रममा विवाद भएको थियो। 

विवाद बढेसँगै ज्ञापनपत्र बुझाउन गएकाहरूले घिसिङको कार्यकक्षमा रहेका टेबललगायत अन्य सामानहरू तोडफोड गरेको आरोप छ। राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।

कर्मचारी संघले परिषद्को हाताभित्र काम विशेषले आफ्ना माग तथा समस्या राख्नका लागि शान्तिपूर्वक कानुन, विधि र प्रक्रियाबाट आफ्ना मागहरू पेस गर्न सकिने भए पनि उसु संघका पूर्वपदाधिकारीको नेतृत्वमा आएको समूहले गलत नियतका साथ गतिविधि गरेको जनाएका थिए।

त्यसअघि राखेपले पत्रकार सम्मेलनमार्फत नेपाल उसु महासंघबाट लाक्पाछिरिङ लामाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको भन्दै उनीसहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको थियो।

उनीहरूलाई तीन दिनभित्र सफाइ पेस गर्न राखेपले भनेको भोलिपल्ट नै लामासहितका टोलीले तोडफोड गरेको आरोप छ।

घटना भएको दिन शैलश कर्मचार्य नेतृत्वको नेपाल उसु महासंघले विज्ञप्ती जारी गर्दै त्यस गतिविधिमा आफ्ना खेलाडीहरू समावेश नभएको भन्दै उक्त कार्यको भत्र्सना गरेको थियो।

भोलिपल्ट खेलकर्मी र करिब ४० खेल संघहरूले विज्ञप्ती जारी गरेर उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरेका थिए।

उक्त कार्य नगरी अन्य असम्बिन्धित व्यक्तिहरुलाई साथमा लिई सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको, अनुशासनहिन, अमर्यादित र अशोभनिय कार्य भएकोले उक्त कार्यप्रति खेलकुद परिषद् कर्मचारी संघले उचित छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको थियो। 

आगामी दिनहरुमा परिषद्को हाताभित्र यस्ता किसिमका कुनै पनि अवाञ्चित क्रियाकलाप भएमा सम्पूर्ण कर्मचारीहरू एकजूट भई अगाडि बढ्ने उल्लेख गरेको थियो।

ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका अध्यक्ष दीपक श्रेष्ठ र इस्पोट्र्स एसोसिएसन अफ नेपाल (इसान) का महासचिव पवन कार्कीले शनिबार विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति निन्दा गर्दै त्यो घटनामा संलग्न व्यक्तिहरूमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका थिए।

ओलम्पियन संघ र खेलाडीले यस्ता गतिविधिले नेपाली खेलकुदलाई नै बदनाम गराएको उल्लेख गर्दै कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad