फागुन १५ गतेदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ। मंगलबार महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो।
सम्मेलन फागुन १५ र १६ गते काठमाडौंमा हुनेछ। पत्रकार सम्मेलनमा बोल्दै महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानुनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने उद्देश्य लिइएको बताए।
उनले सम्मेलनमा नेपालसहित, संयुक्त राज्य बेलायत, नेदरल्याण्ड्स, मलेसिया, साउदी अरेबिया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे र रुसलगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानुन विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहने बताए।
दुई दिनमा ४ वटा प्लेनरी सत्र, ८ वटा समानन्तर (प्यारेलल) सत्रमा १६ वटा कार्यपत्रमाथि छलफल हुने बडालको भनाइ छ। प्रविधिमार्फत हुने यौनजन्य हिंसा, साइबर अपराध, डिजिटल ठगी तथा वित्तीय अपराध, अनलाइन शोषण, व्यक्तिगत गोपनियता उल्लंघन, डिजिटल प्रमाण संकलनका विधि, अन्तर्राष्ट्रिय कानुनी सहकार्य तथा साइबर कानुनी नीति निर्माण जस्ता विषयहरूमा छलफल हुने बताए।
सम्मेलनको आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा न्यायिक सुधार, प्रविधि अनुकुल कानुनी संरचना निर्माण, मानव अधिकार संरक्षण तथा साइबर अपराध नियन्त्रणका सन्दर्भमा सक्रिय राष्ट्रको रुपमा प्रस्तुत गर्ने अवसर मिल्ने बताए।
Shares

प्रतिक्रिया