समाज


‘बृहत्तर नेपाली शब्दकोश’का लेखक चूडामणि गौतमको निधन

‘बृहत्तर नेपाली शब्दकोश’का लेखक चूडामणि गौतमको निधन

नेपालखबर
फागुन १३, २०८१ मंगलबार ७:४०, काठमाडौँ

सुप्रसिद्ध लेखक चूडामणि गौतमको निधन भएको छ।

बृहत्तर नेपाली शब्दकोश, अंग्रेजी ग्रामरसहितका सयौं पुस्तकका लेखक गौतमको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो।

फोक्सोमा पानी जम्ने समस्या देखिएपछि गौतम दुई साता अघिदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। उपचारकै क्रममा उनको निधन भएको हो। 

गौतमको जन्म २००७ साल असोज १ गते तेह्रथुमको खाम्लालुङ-१ पाकतिनमा भएको थियो। उनी  ‘ग्रामर गुरु’ नामलेसमेत चिनिन्थे। गौतमले लेखेको अंग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो।

गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अंग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश, बृहत्तर नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तक प्रकाशित छन्। 

बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो। लेखनको सुरुमा उनले आभास कविता संग्रह प्रकाशित गरेका थिए। 

नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली बगली कोश लगायतका पुस्तक उनका निकै चर्चित छन्। 

गौतमले २१ वर्षको उमेरमा आठराईको मोहन माविबाट एसएलसी उत्तीर्ण गरेका थिए। उनले आईएस्सी महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट गरेका थिए।  

उनले प्राइभेट परीक्षा दिएर मानविकी र कानूनमा स्नातक गरेका थिए। गौतमले नेपाली विषयमासमेत स्नातक गरेका थिए। उनले झापा लगायत विभिन्न ठाउँमा अध्यापनसमेत गरेका थिए। 

सोमबार नै पशुपति आर्यघाटमा गौतमको अत्येष्टि गरिएको छ।  उनका श्रीमती, एक छोरा र एक छोरी छन्। उनका छोरा नितिरमण गौतम झापाको मेचीनगर नगरपालिका-१२ पाथीभराचोकमा बस्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad