नेपाली सेनाले विश्व शान्ति र स्थायीत्वका लागि संयुक्त राष्ट्रसंघमार्फत एक लाख ५४ हजार तीन सय ४० नेपाली सैनिकले योगदान गरेको बताएको छ।
नेपाली सेनाले हालसम्म गरेका कार्यहरूका बारेमा जानकारी दिन आइतबार मुख्यालयमा आयोजित कार्यक्रममा यो जानकारी दिएको हो।
नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले शान्ति स्थापनाका लागि खटिएका ७३ नेपाली सैनिकले ज्यान गुमाएको जानकारी दिए।
उनले शान्ति कार्यमा खटिएका ६९ सैनिक घाइते भई असहज जीवनयापन गरिरहको समेत बताए। संयुक्त राष्ट्रसंघमार्फत शान्ति सेनामा सैनिक खटाउने राष्ट्रमा नेपालको स्थान अग्रणी रहेको उनको भनाइ छ।
‘संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति र स्थायित्वका लागि हालसम्म विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ५४ हजार तीन सय चालिस जना नेपाली शान्ति सैनिकहरूले सहभागित जनाइसकेका छन्,' उनले भने, 'यस महान कार्यको दौरान ७३ जना वीर नेपाली सेनाले ज्यान उत्सर्ग गरेका छन् भने ६९ सैनिकहरू घाइते हुन गई आजीवन असहज जीवन यापन गरिरहेका छन्। हाल ११ वटा मिसनहरूमा नेपाली महिला सैनिक ६४२ सहित कूल पाँच हजार नौ सय १३ जना सैनिक शान्ति सैनिकको सहभागिताले फौज खटाइ योगदान गर्ने राष्ट्रहरूको मर्यादा क्रममा नेपाल महिला र पुरुष सैनिक पठाउने राष्ट्रको सूचिमा अग्रणी स्थानमा रहेको जानकारी गराउन चाहन्छु।’
नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा शिकार आरक्षण र चुरे क्षेत्रको सुरक्षा र संरक्षणका लागि नौ हजार सेना खटिएको बताएको छ। नेपाली सेनाले मित्रराष्ट्रहरूका सेनासँग सैनिक तालिमहरू तथा सैनिक उच्च अधिकारीहरूको भ्रमण र समन्वयात्मक बैठक गरी सैनिक कूटनीतिक गतिविधिबाट मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रगाढ बनाएको जानकारी दिएको छ।
Shares

प्रतिक्रिया