विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा पनि कोरोनाको खतरा बढिरहेको छ।
कोरोनाका कारण हालसम्म भारतमा ४ सय २५ संक्रमित भइसकेका छन्। त्यहाँ ८ जनाको मृत्यु भइसकेको छ।
आइतबार भारतमा ‘जनता कर्फ्यु’ १४ घण्टासम्म लागू गरिएको थियो। उक्त अवधिमा भारत पुरै ठप्प पारिएको थियो। सबैले घरैमा बसेर सरकारको नियम पालना गरे।
जनता कर्फ्यु १४ घण्टासम्म लागू भएपछि नै भारतमा दिल्लीसहितका मुख्य शहरहरुले आगामी मार्च ३१ सम्म शहर ‘लकडाउन’ ठप्प पार्ने भएका छन्।
दिल्ली, मुम्बई, बैंगलोर, पुने, हैदराबाद र कोलकत्ता शहर सोमबार बिहान ६ बजेदेखि मार्च ३१ सम्म ठप्प हुने भारतीय सन्चारमाध्यमले जनाएका छन्। यस्तै गोवाले पनि तीनदिन शहर ठप्प पार्ने बताएको छ।
चीनले शहरहरु ठप्प पारेरै आफ्नो देशमा कोरोना संक्रमण हुन नदिएको भनेर विश्लेषण भइरहँदा भारतका यी मुख्य शहरहरुले सोही उपाय अपनाएका हुन्।
अत्यावश्यक बाहेक सबै बजार, दोकान, उद्योग ती शहरहरुमा ठप्प हुनेछन्। दिल्लीले आफ्नो सिमाना बन्द गरेको छ। त्यहाँको रेल सेवा तथा मेट्रो सेवा बन्दु हुनेछ। ती शहरहरुमा सार्वजनिक यातायात चल्न प्रतिबन्ध लगाइएको छ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले हाल विश्व कोरोनाले ग्रस्त बनेको समयमा आफूहरुले कोरोनाबाट बच्न चाँडो कदम चाल्नु पर्ने बताए। उनले ढिला भएको अवस्थामा शहर ठप्प पार्दासमेत संक्रमण नरोकिने बताएका छन्। एजेन्सी
प्रतिक्रिया