समाज


पूर्वन्यायाधीश आचार्यको निधन, सर्वोच्चका सबै इजलासको सुनुवाइ स्थगित

पूर्वन्यायाधीश आचार्यको निधन, सर्वोच्चका सबै इजलासको सुनुवाइ स्थगित

नेपालखबर
माघ २७, २०८१ आइतबार १६:२४, काठमाडौँ

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अरविन्दनाथ आचार्यको निधन भएको छ।

उनको निधनको शोकमा सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुल कोर्ट) ले आइतबार सबै इजलासको सुनुवाइ स्थगित गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भएन। सर्वोच्चमा आइतबार ३६२ वटा मुद्दा पेसीमा थिए।

सर्वोच्चका अनुसार, आचार्य २०४९ माघ १ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भई २०६० वैशाख १३ सम्म कार्यरत रहेका थिए।

१९९५ वैशाख १४ गते काठमाडौंको डिल्लीबजार, मैतिदेवी फाँटमा जन्मिएका उनको शनिबार ८६ वर्ष ९ महिना १२ दिनको उमेरमा निधन भएको हो।

‘आचार्य देवानी र फौजदारी कानुनका क्षेत्रमा विशेष दख्खल राख्ने, लगनशील, मिलनसार सहृदयी, मृदुभाषी एवम् अनुभवी न्यायिक व्यक्तित्वको रूपमा स्थापित हुनुहुन्थ्यो,’ सर्वोच्चका प्रवक्ता अच्युत कुँइकेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको निधनबाट न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ। उहाँको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ।’

आइतबार नै सर्वोच्चमा उनको आत्माको चिर र अनन्त शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad