नेपाल स्काउटको कोसी प्रदेश स्तरीय भेला विराटनगरमा सुरु भएको छ । स्काउटमा लागेका विद्यार्थीहरूलाई समाज र समुदाय प्रति जिम्मेवार बनाउने उद्देश्यले भेला गरिएको हो।
भेलालाई सम्बोधन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल स्काउटले व्यक्तित्व विकाससँगै असल नागरिक भएर मुलुकको सेवामा समर्पित भएर काम गर्न अभिप्रेरित गर्ने गरेको बताए ।
कार्कीले केही स्वार्थी समूहले समाजलाई गलत बाटोमा लैजाने दुष्प्रयास गरिरहेकाले त्यसविरुद्ध नेपाल स्काउटले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले नेपालमा आउने गरेको प्राकृतिक विपद् तथा कोरोनाको महामारीका बोला नेपाल स्काउटले खेलेको भूमिकाको प्रशंसा गरे।
कोसी प्रदेशका १३७ वटा पालिकाका एक हजार १३७ वटा वडा तथा सबै विद्यालयहरूमा नेपाल स्काउटको विस्तार आवश्यक रहेको बताए। उनले नेपाल स्काउट एउटा पवित्रा समाजसेवामा सक्रिय संस्था भएकाले यो संस्थालाई कुनै प्रकारको राजनीतिक स्वार्थबाट जोड्न नहुने उल्लेख गरे।
कार्यक्रममा सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नागरिक असल नहुँदासम्म समाज असल बन्न नसक्ने बताए। विराटनगर महानगरपालिका उप–मेयर शिल्पा निराला कार्की, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले नेपाल स्काउटले समाजमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
तीन दिनसम्म चल्ने भेलामा कोसी प्रदेशका ६७ वटा पालिका तथा विभिन्न विद्यालयका २५ सय स्काउट विद्यार्थीहरु सहभागी छन्। भेलामा स्काउट सम्बन्धी विभिन्न क्रियाकलापको आयोजना हुने जनाइएको छ।
Shares

प्रतिक्रिया