समाज


काठमाडौँका ३६ ठाउँमा जोडियो यात्रुले नै 'लाइट' बालेर बाटो काट्न सक्ने प्रविधि

काठमाडौँका ३६ ठाउँमा जोडियो यात्रुले नै 'लाइट' बालेर बाटो काट्न सक्ने प्रविधि

नेपालखबर
माघ २३, २०८१ बुधबार १३:४२, काठमाडौँ

बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ। बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो।

पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए। उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए।

उनका अनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्नेबित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ। यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँहरु समेत ट्राफिक लाइट बाल्ने प्रविधि सुरु गर्न लागेको बताए।

उनले भने, ‘यसलाई बटन क्रसिङ भन्छ। जबसम्म यसमा रहेको बटनलाई पुस गरिँदैन यसले काम गर्दैन। पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ। अहिले जथाभावी क्रस गर्ने भएको कारण सुरक्षित छैन। अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं। यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडि रोकिन्छ। र ढुक्कका साथ बाटो काट्नसक्छ। यात्रुको सुरक्षालाई मध्यनजगर गरेर काठमाडौं महानगरपालिकाले यो कामहरु गर्न थालेको हो।’

सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुशी भएका छन्। पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले उक्त प्रविधिले सडक दुर्घटना कम हुने विश्वास लिए। पद्मकन्या अगाडिको सडकमा महिनैपिच्छे दुर्घटना हुने भएको कारण काठमाडौं महानगरको यस कार्यको प्रशंसा गरे।

उनले भने, ‘रोड सेफ्टीको लागि जुन यो ट्राफिक लाइट र बटन राखिदिनुभएको छ यो एकदमे उदाहरणीय काम भएको छ। पहिले हामी कलेज आउँदा जाँदा दुर्घटनाको समस्या थियो। सही समयमा सही ठाउँमा राखिदिनुभएको छ। यसको लागि धेरै धेरै धन्यावाद दिन चाहन्छु।’

पद्मकन्या बहुमुखी क्याम्पसको जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर उक्त प्रविधि सञ्जालनमा आएको बताइन्। उनले सडक सुरक्षाको मापदण्डमा काठमाडौं महानगरले अवलम्बन गरेको उक्त मापदण्ड सबैभन्दा उत्तम रहेको बताए। उनले जेब्रा क्रसिङ गर्नको लागि उक्त प्रविधिले दिने समयबारे केही समयको अभ्यासपछि पुनरावलोकन गर्न सकिने बताए।

काठमाडौँ महानगरपालकाले सडक सुधार आयोजनाअन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad