समाज


निरोगी नेपाल बनाउन 'एचपीभी' खोप अभियान सुरु गरियो : स्वास्थ्यमन्त्री पौडैल

निरोगी नेपाल बनाउन 'एचपीभी' खोप अभियान सुरु गरियो : स्वास्थ्यमन्त्री पौडैल

स्वास्थ्यमन्त्री प्रदीप पौडेल


नेपालखबर
माघ २२, २०८१ मंगलबार १५:४२, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन सुरु गरिएको बताएका छन्।  

उनले यो खोपबाट कोही पनि किशोरी बञ्चित हुन नदिन सबैले आ-आफ्नो ठाउँबाट प्रचारप्रसार र सहयोग गर्न आग्रह गरे।

आज एचपीभी खोप अभियान २०८१ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, 'देशैभर खोप र जनशक्ति पुगेकाले लक्षित वर्ग खोपबाट नछुटुन् भन्ने उद्देश्य सरकारको छ, निरोगी नेपाल बनाउन यसले सहयोग पुर्‍याउनेछ, भविष्यमा नेपाललाई स्वस्थ बनाउन अभियानले काम गर्नेछ।'

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पाठेघरको मुखको क्यान्सरको समस्या सधैँका लागि समाधान गर्ने उद्देश्यले खोप अभियान सुरु गरिएको बताए। उनले भने, 'हरेक वर्ष हामीले नियमित खोप तालिकामार्फत यो खोप किशोरीहरुलाई दिनेछौँ, प्रत्येक बालबालिकाको सुरक्षित भविष्य बनाउने सुनिश्चितता गर्न चाहन्छौँ।'

कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा. विकास देवकोटाले १४५ देशमा प्रयोग भइरहेको यो खोप नेपालले पनि समावेश गर्न पाउँदा गर्व लागेको बताए।

उनले भने, 'देशमा नसर्ने रोगको भार बढिरहेको छ, जसमा क्यान्सरको भार झन् बढ्दो छ, हरेक दिन छ जनामा पाठेघरको मुखको क्यान्सर देखिने र चार जनाको मृत्यु हुने गरेको छ, त्यसैले किशोरावस्थामा नै एचपीभी खोप अभियान सुरु गरेका हौँ, यो विद्यालय केन्द्रित खोप अभियान हो, छुटेका र विद्यालय बाहिरका छात्रालाई खोप दिइनेछ।

मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान आगामी फागुन ६ गतेसम्म देशभर सञ्चालन गरेको छ। कुल १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य सरकारको  छ। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad