समाज


इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए

नेपालखबर
माघ २१, २०८१ सोमबार २२:५, बागलुङ

बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका देवकुमार नेपालीले बचतकर्ताबीच मिलापत्र गरी बचत फिर्ता सुरु गरेका छन्।

बचत पीडित सङ्घर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षेत्रका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको छ। सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक वर्षभित्र साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई जग्गा फिर्ता गर्ने सर्तमा मिलापत्र गरे लगत्तै बचत रकम फिर्ता गर्न थालिएको सङ्घर्ष समितिका पश्चिम संयोजक मञ्जु शर्माले बताए।

रु एक लाख सम्मका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको र आइतबार नै ढोरपाटन क्षेत्रमा रु ३७ लाखको चेक ९२ बचतकर्तालाई फिर्ता गरिएको सङ्घर्ष समितिका पश्चिम संयोजक  शर्माले जानकारी दिए।

गलकोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये रु एक लाखसम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने छन्। इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाखसम्म बचत गरेका गलकोट र ढोरपाटनका बचतकर्ताले बचत रकम पाउन थालेपछि उनीहरुमा उत्साह छाएको छ।

बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमतिपछि अदालतमा मिलापत्र थालिएको र हालसम्म पाँच सय ४७ पीडित र सहकारीका अध्यक्ष नेपालीबीच मिलापत्र भइसकेको अन्य एक हजार पीडितसँग मिलापत्र थालिएको इमेज बचत पीडित स¬ङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए। रु एक लाखसम्म बचत गर्ने चार सय ८८ बचतकर्ता छन्। रु एकलाख माथिका बचतकर्तालाई जग्गा दिने तयारी छ।

बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको सहकारीका पाँच सय ४७ जनाको रु २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार बढी बचतकर्ताको रु एक अर्ब १५ करोड बचत रकमको मिलापत्र गरिने संयोजक कार्कीले बताए।

सहकारीको करिब रु दुई अर्ब रकम हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको थियो। बागलुङको सहकारीबाट एक अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। सहकारीको रकम अपचलन गरेको दाबीसहित देवकुमारसहित ११ जना विरूद्ध बागलुङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। एक हजार पाँच सय ४३ जनाको उजुरीका आधारमा अध्यक्ष नेपाली कारागारमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad