सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आईतवार विश्व सिमसार दिवस मनाएको छ। सिमसार क्षेत्रको संरक्षणका लागि जनचेतना बढाउन तथा संरक्षण र प्रबर्द्धन गर्नको लागि वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच सिमसार दिवस मनाएको हो। कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसाबले महत्वपूर्ण क्षेत्र भएको बताए।
नेपालका सयौं तालतलैयाहरू सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रबर्द्धन गर्न जरुरी रहेको उनको भनाइ छ। उनले सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए। उनले सिमसार क्षेत्रको संरक्षण्मा समयमै ध्यान पुर्याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने बताए।
मन्त्री ठकुरीले भने, ‘सिमसारको रुपमा नेपाल अत्यन्तै महत्वपूर्ण क्षेत्र मानिँदै आएको छ। नेपालको हिमाल, पहाड र तराईमा सिमसारका महत्वपूर्ण क्षेत्रहरू छन्। म आफैँ पनि मुगु जिल्ला र विशेषगरी रारा ताल सिमसार र रामसार क्षेत्रमा सूचिकृत भएको छ। सिमसार क्षेत्रको संरक्षण र प्रबर्द्धन हामी गर्नसक्छौँ। सिमसारसँग जोडिएका विभिन्न पारिस्थितिय प्रणालीहरू र सबै पक्षहरूको संरक्षण जरुरी छ।'
सिमसार क्षेत्र संरक्षण नगरे समस्या झनै बढ्दै जाने उनको भनाइ छ। 'यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण भुमिका खेल्ने नै छ र हामी सबै लागेर सिमसारको संरक्षण र प्रबर्द्धन गर्दै जानुपर्छ। सिमसारको संरक्षण गर्न सकिएन भने विभिन्न समस्याहरू बढ्दै जान्छन्,' उनले भने, 'जस्तै अहिले जलवायु परिवर्तनका कारणले जसरी समस्या सिर्जना हुँदै गएका छन्। त्यसैगरी सिमसार क्षेत्रको संरक्षणका लागि हामीले समयमै ध्यान पुर्याउन सकेनौँ भने यसबाट धेरै समस्याहरू व्यहोर्नुपर्ने समस्या छ।’
उनले सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया