नेपालमा कोरोना संक्रमित भेटिएको भनी गलत हल्ला फैलाउने एक युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ पक्राउ गरेको छ।
रामेछापको ठाडादेवी गाउँपालिका घर भई हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगर कोरोना भाइसरबारे जनतालाई त्रसित र आतंकित बनाउने गरी समाजिक सञ्जालमा हल्ला चलाएका थिए। उनले सामाजिक सञ्जालमा काठमाडौँको एक अस्पतालमा कोरोना भाइरसका ६ बिरामी भेटिएको र एक जनाकाे मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए।
शनिबार बिहान सो अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त अस्पतालले शनिबारै एक विज्ञप्ति प्रकाशित गर्दै सो अडियो गलत रहेको र अस्पतालमा कोरोना संक्रमित बिरामी नभएको प्रस्ट पारेको थियो।
शनिबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले भक्तपुरको सिपाडोलबाट पक्राउ गरेपछि लिएको प्रारम्भिक बयानमा थापाले आफ्नो पेजको ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्रम छरेको बयान दिएका छन्।
‘प्रारम्भिक सोधपुछमा थापाले आफूले संचालन गरेको पेजमा ‘रिच र इंगेजमेन्ट’ बढाउन सो भ्रम र अफवाह फैलाएको स्वीकार गरेका छन्’, प्रहरीले भनेको छ, ‘सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर व्प्युरोले अनुसन्धान अगाडि बढाएको बताए।
‘हामीले पक्राउ लगत्तै अनुसन्धान अगाडि बडाएका छौँ’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता थापाले भने, ‘अहिले अनुसन्धानमा छौँ, विस्तृतमा अनुसन्धानपछि नै बताउँछौँ।’
उनले सो अफवाह फैलाउने कार्यमा अन्य व्यक्तिहरुको संलग्नता रहेनरहेको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए।
उनले पक्राउ परेका युवाले दर्ता नभएको एक अनलाइन समेत चलाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जनाए। ‘त्यसबारे पनि अनुसन्धान गरिरहेका छौं। कारबाही प्रक्रिया अघि बढिसक्यो,’ उनले भने।
प्रहरीले कसैले पनि आफूले संचालन गरेको कुनै पनि पेजहरुमा ‘रिच’ र ‘अडियन्स’बढाउन यस किसिमका गतिविधि नगनगर्न आग्रह गर्दै यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने बताएको छ।
Shares

प्रतिक्रिया