समाज


झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउने आदेश बदर, २ लाख धरौटीमा रिहा

झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउने आदेश बदर, २ लाख धरौटीमा रिहा

नेपालखबर
माघ ११, २०८१ शुक्रबार २०:४७, काठमाडौँ

झाँक्री प्रकाश भुजेललाई सवारी ज्यान मुद्दामा थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर भएको छ। बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो। 

उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा ागर्न आदेश दिएको छ। अदालतले माग गरेको धरौटी बुझाएर भुजेल रिहा भइसकेको उच्च अदालत पाटनले जानकारी दिएको छ।

यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले मंसिर २३ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

कात्तिक २८ गते उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। २८ गते दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका ९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका २, आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटी घाइते भएका थिए। 

उनीहरूलाई तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो। भोलिपल्ट दुवै जनाको मृत्यु भएको थियो। 

दुर्घटनापछि कार त्यहीँ छाडेर भागेका झाँक्री पछि बौद्ध प्रहरी वृत्तमा उपस्थित भएका थिए। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो। 

तर दुवै जनाको ज्यान गएपछि पीडित परिवारले आर्थिक सहायताको माग गर्दै शव समेत बुझ्न मानेका थिएनन्। झाँक्रीले मृतकका परिवारलाई आर्थिक सहायता दिएपछि शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको थियो। 

मृतक परिवारको तर्फबाट अनिल नगरकोटीले सवारी ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका थिए। अनुसन्धान सुरु भएको २५ औँ दिनमा झाँक्री भुजेललाई थुनामा पठाउने आदेश भएको थियो। थुनामा पठाएको डेढ महिनापछि उनी रिहा भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad